Logo

२ माघ, काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचन आयोगले आफ्नो नेतृत्वलाई आधिकारिकता नदिए देशव्यापी आन्दोलन छेड्ने चेतावनी दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगलाई विधिसम्मत बाटोमा हिँड्न आग्रह गर्दै अन्यथा पार्टी कडा संघर्षमा उत्रिने प्रष्ट पार्नुभयो । गगन थापा नेतृत्वको समूहले समानान्तर कार्यसमितिको अद्यावधिकका लागि दाबी गरिरहेका बेला खड्काको यो कडा टिप्पणी सार्वजनिक भएको हो ।

पत्रकार सम्मेलनका क्रममा खड्काले निर्वाचन आयोग गलत बाटोमा जान सक्छ भन्ने केही आशंकाहरू जन्मिएको बताउँदै यदि १४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वलाई उपेक्षा गरिएमा कांग्रेसका कार्यकर्ताहरू हात बाँधेर नबस्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको आधिकारिक नेपाली कांग्रेसलाई मान्यता दिएन भने देशभर आन्दोलनको आँधीबेहरी सिर्जना हुनेछ। हामी गाउँगाउँ र वडावडाबाट चारतारे झण्डा लिएर सडकमा उत्रिन बाध्य हुनेछौँ।’ खड्काले पार्टीको अस्तित्व रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको संकेत गर्दै देशभरका भ्रातृ संगठन र कार्यकर्ताहरूलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशनसमेत दिनुभयो ।

पार्टीभित्रको विवाद निर्वाचन आयोगको इजलासमा पुगेको बेला संस्थापन पक्षले यसरी ‘आन्दोलन’ को कार्ड फाल्नुलाई राजनीतिक वृत्तमा दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ । खड्काले निर्वाचन कार्यतालिका अघि बढिसकेको अवस्थामा अर्को पक्षलाई आधिकारिकता दिने प्रयास भएमा त्यसले लोकतन्त्र र कानुनी शासनको उपहास हुने तर्क गर्नुभयो । आयोगले गर्ने फैसलाले कांग्रेसको मात्र नभई समग्र निर्वाचन प्रणालीको निष्पक्षताको परीक्षा लिने उहाँको दाबी थियो ।

संस्थापन पक्षले ८८५ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ताको पत्र आयोगमा बुझाइसकेको सन्दर्भमा खड्काले अब कुनै पनि हालतमा गगन पक्षको दाबी वैधानिक हुन नसक्ने जिकिर गर्नुभयो । निर्वाचन आयोगले कस्तो निर्णय गर्छ भन्ने अन्योल कायमै रहँदा कांग्रेसको यो आन्दोलनको चेतावनीले राजनीतिलाई थप उत्तेजित बनाएको छ । आयोगले दिने फैसला र त्यसपछिको परिस्थिति कस्तो होला भन्नेमा यतिबेला सबैको ध्यान केन्द्रित भएको छ ।


सम्बन्धित समाचार