Logo

३ माघ, बुटवल । नेकपा एमाले का केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेल ले पार्टी परित्याग गरेका छन्। रुपन्देही क्षेत्र नं. २ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ का स्थायी बासिन्दा पौडेलले जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।

राजीनामा पत्रमार्फत पौडेलले पछिल्लो समय पार्टीभित्र अधिनायकवादी प्रवृत्ति, नातावाद, गुटगत मानसिकता, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार तथा गाली–बेइज्जतीको संस्कृति हावी भएको आरोप लगाएका छन्। यस्ता प्रवृत्तिसँग आफू सहमत हुन नसकेको उल्लेख गर्दै उनले पार्टीसँगको सम्बन्ध तोड्ने निर्णय गरेको जनाएका छन्।

पार्टी परित्यागपछि आफू स्वतन्त्र रूपमा राजनीतिक जीवन अगाडि बढाउने पौडेलको भनाइ छ। उनी एमाले नेतृत्वमा रहेको प्रदेश सरकारका बेला तत्कालीन मुख्यमन्त्री लिला गिरी को कार्यकालमा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा नियुक्त भएका थिए। साथै एमाले नेतृत्वकै सरकारमा रहँदा उनी कानुन आयोगको सदस्यको भूमिकामा पनि सक्रिय थिए।

पौडेलको राजनीतिक यात्रा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीको अध्यक्षबाट सुरु भएको हो। त्यसपछि उनी तीन कार्यकालसम्म एमाले रुपन्देहीको सचिवालय सदस्य, साथै इलाका तथा क्षेत्रीय कमिटी सदस्यको रूपमा पार्टी संगठनमा क्रियाशील रहेका थिए।

राजीनामा पत्रमा पौडेलले आफूलाई विभिन्न सरकारी जिम्मेवारीमा पुग्न सहयोग पुर्‍याएको भन्दै पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा तत्कालीन मुख्यमन्त्री लिला गिरीप्रति धन्यवाद समेत व्यक्त गरेका छन्।

उनको पार्टी परित्यागसँगै रुपन्देहीको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।


सम्बन्धित समाचार