३ मांघ,काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का नेता वामदेव गौतम आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएका छन्। हाल राष्ट्रिय सभा सदस्य रहेका गौतमलाई नेकपाले बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने निर्णय गरेको हो।
उम्मेदवारीका लागि बाटो खुलाउन गौतमले आइतबार राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिने तयारी गरेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल ले गौतमलाई बर्दिया–१ बाट चुनाव लड्न सुझाव दिएका हुन्। चुनावी तयारीलाई तीव्र बनाउन गौतम अहिले बर्दियामै खटिएका छन्।
यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा गौतम बर्दिया–१ बाट नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतम सँग पराजित भएका थिए। त्यसबेला सञ्जयकुमार गौतमले आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओली ले हराएको भन्दै सार्वजनिक आरोप लगाएका थिए। प्रधानमन्त्रीमा दाबी गरेपछि ओलीले एमालेका अर्का नेता सूर्य थापा लगायतलाई बर्दिया पठाएर आफूलाई हराएको आरोप उनले लगाएका थिए।
वामदेव गौतम करिब चार वर्ष एमालेबाहिर बसेपछि गत कात्तिक १९ गते नेकपामा प्रवेश गरेका थिए। पार्टी प्रवेशसँगै उनले नेकपाका लागि एक करोड भोट ल्याएर बहुमतसहित पहिलो दल बनाउने दाबी गरेका छन्।
उता, बर्दिया निर्वाचन क्षेत्र नम्बर २ बाट २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित लालवीर चौधरी ले पनि नेकपाबाट टिकट लिने भएका छन्। नागरिक उन्मुक्ति पार्टी हाल नेकपामा गाभिएको अवस्थामा छ।















