४ माघ, वीरगञ्ज । नेकपा (एमाले) ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशमा ‘हेभीवेट’ उम्मेदवारहरूलाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ । एमाले सचिवालयको पछिल्लो निर्णयअनुसार मधेस प्रदेश सभामा बहाल रहेका चार प्रभावशाली सांसदहरूले यसपटक संघीय निर्वाचन लड्ने भएका हुन् ।
एमालेले मधेस प्रदेशका दुई पूर्वमुख्यमन्त्री र एक निवर्तमान सभामुखलाई प्रतिनिधिसभाको टिकट सुम्पेको छ । जनमत पार्टीबाट निर्वाचित भई मुख्यमन्त्री बनेका तर हाल एमालेको समर्थन र समन्वयमा रहेका प्रदेश सांसद सतिशकुमार सिंहलाई सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय भएको छ ।
त्यसैगरी, मधेस प्रदेशका निवर्तमान सभामुख रामचन्द्र मण्डल धनुषा क्षेत्र नम्बर १ बाट चुनावी प्रतिस्पर्धामा उत्रिनेछन्। मधेस प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता सरोज यादवलाई महोत्तरी क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको छ।
एमालेका अर्का प्रभावशाली प्रदेश सांसद प्रमोद जयसवाललाई पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाइएको छ । उम्मेदवारका रूपमा अघि सारिएका यी चारैजना नेताहरू अघिल्लो प्रदेश सभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।
प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि कानुनी रूपमा बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने व्यवस्थाअनुसार उनीहरूले प्रदेश सांसद पदबाट राजीनामा दिने तयारी गरेका छन् ।
प्रदेशमा सफल अनुभव बटुलिसकेका र जनस्तरमा बलियो पकड भएका नेताहरूलाई केन्द्रमा ल्याउने एमालेको यो कदमलाई राजनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ । प्रत्यक्ष निर्वाचित सांसदहरूलाई नै संघीय मैदानमा उतार्दा जित सुनिश्चित हुने एमालेको बुझाइ छ । यी ‘हेभीवेट’ उम्मेदवारहरूको उपस्थितिले मधेसका सम्बन्धित निर्वाचन क्षेत्रहरूमा चुनावी सरगर्मी र प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ ।














