४ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्रको नेतृत्वको विवाद अब सडक र पार्टी कार्यालय हुँदै मुलुकको सर्वोच्च न्यायालय पुग्ने भएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको विशेष महाधिवेशन समितिलाई आधिकारिकता दिने निर्णय गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले त्यस विरुद्ध आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा समूह आजै रिट लिएर सर्वोच्च जाने अन्तिम तयारीमा जुटेको छ। “निर्वाचन आयोगको अन्यायपूर्ण निर्णयविरुद्ध हामी आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाँदैछौँ,” उनले भने ।
शनिबार बसेको देउवा पक्षीय केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयलाई राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने औपचारिक निर्णय गरेको थियो । कानुनी लडाइँको कमान्ड सम्हाल्ने जिम्मेवारी तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई दिइएको छ ।
नेता खड्का अहिले वरिष्ठ अधिवक्ताहरू खम्मबहादुर खाती, शेरबहादुर केसी लगायतका कानुन व्यवसायीहरूसँग रिटको मस्यौदालाई अन्तिम रूप दिन व्यस्त छन् । देउवा पक्षले विशेष महाधिवेशनको वैधानिकतामाथि नै प्रश्न उठाउँदै आयोगको निर्णय बदरको माग गर्ने बुझिएको छ।
गगन थापा र विश्वप्रकाश शर्मा समूहले काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरी नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेस विभाजनको सङ्घारमा पुगेको हो । देउवा पक्षले भने पार्टीले नियमित महाधिवेशनको मिति तय गरिसकेको अवस्थामा गरिने ‘विशेष महाधिवेशन’ विधान विपरीत र अनावश्यक रहेको जिकिर गर्दै आएको छ ।
निर्वाचन आयोगले थापा नेतृत्वको समितिलाई आधिकारिकता प्रदान गर्दै पार्टीको चुनाव चिह्न ‘रुख’ र झण्डा प्रयोगको अनुमति दिएपछि देउवा समूह राजनीतिक रूपमा निकै दबाबमा परेको छ । सर्वोच्च अदालतले यस रिटमा दिने प्रारम्भिक आदेशले आगामी निर्वाचन र नेपाली कांग्रेसको भविष्यलाई निर्णायक मोड दिने देखिन्छ ।














