Logo

४ माघ, वीरगञ्ज । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ मा जनमत पार्टीले युवा नेता एवं सामाजिक अभियन्ता ओमप्रकाश सर्राफलाई उम्मेदवार बनाउने तयारी गरेको छ । अन्य प्रमुख दलहरूले पुराना र स्थापित अनुहारलाई नै पुनः दोहोर्‍याउने सङ्केत गरिरहँदा जनमतले भने जिल्ला अध्यक्ष सर्राफलाई ‘स्वच्छ र नयाँ विकल्प’ का रूपमा अघि सार्न लागेको हो ।

‘जेन्जी’ आन्दोलनको म्यान्डेटअनुसार युवा र नयाँ नेतृत्वलाई अवसर दिने पार्टीको नीतिअन्तर्गत पर्सा-१ लाई जनमतले आफ्नो बलियो आधार क्षेत्रको सूचीमा राखेको छ। अघिल्लो प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर तत्कालीन मुख्यमन्त्री लालबाबु राउतसँग कडा प्रतिस्पर्धा गर्दै सम्मानजनक मत प्राप्त गरेका सर्राफको लोकप्रियता यस क्षेत्रमा बढ्दो छ।

पछिल्लो समय जनमत पार्टीमा आबद्ध भई राजनीतिलाई सेवाका रूपमा परिभाषित गर्दै आएका सर्राफको पहिचान केवल नेताका रूपमा मात्र नभई एक सक्रिय अभियन्ताका रूपमा पनि छ। मधेस आन्दोलनमा युवाहरूको कमान्ड सम्हालेदेखि लोडसेडिङ विरुद्धको आन्दोलन र सिर्सिया नदी बचाउ अभियानसम्म सर्राफको सक्रियता रहँदै आएको छ । मधेसको पर्यटन प्रवर्द्धनका लागि २२ वटै जिल्लामा ‘भिजिट मधेस’ अभियान चलाएका सर्राफ नारायणी अस्पतालको सुधार र नारायणी रङ्गशालाको स्तरोन्नतिका लागि समेत निरन्तर दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

विशेषगरी कोरोना महामारीका बेला ‘फुड फर निडी’ अभियानमार्फत हजारौँ बिरामी, कुरुवा र असहायहरूलाई निःशुल्क खाना तथा एम्बुलेन्स सेवा उपलब्ध गराएर उनले मानवीय सेवाको उदाहरण प्रस्तुत गरेका थिए । हाल उनकै नेतृत्वमा सञ्चालित लोककल्याणकारी अभियान अन्तर्गत पर्साका गाउँ-गाउँमा १० हजारभन्दा बढीको आँखा जाँच र एक हजारभन्दा बढीको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया भइसकेको छ । वीरगञ्ज कपडा बैंकको संस्थापक तथा हजारौँ युवालाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेका सर्राफको उम्मेदवारीले यसपटक पर्सा-१ मा ‘परिवर्तन’ पक्षधर मतदाताहरूलाई आकर्षित गर्ने राजनीतिक विश्लेषकहरूको आकलन छ।


सम्बन्धित समाचार