४ माघ, काठमाडौं । मधेश प्रदेशको राजनीतिमा नयाँ हलचल ल्याउँदै पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक यात्राको घोषणा गरेका छन् ।
आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उनले आफ्ना दाजु सत्यवानकुमार सिंहको अध्यक्षतामा स्वाभिमान पार्टी दर्ता गराएर चुनावी मैदानमा होमिने निर्णय लिएका हुन् । यसअघि जनमत पार्टीबाट राजनीतिमा सक्रिय रहेका सिंहले सोही पार्टीको तर्फबाट मुख्यमन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका छन् । तर, पछिल्लो समय पार्टी नेतृत्वसँग बढेको दूरी र राजनीतिक घटनाक्रमका बीच उनले नयाँ दलमार्फत आफ्नो पहिचान बनाउने बाटो रोजेका हुन् ।
सिंहले आफू सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने स्पष्ट पारेका छन् । चाखलाग्दो कुरा के छ भने, नेकपा एमालेले पनि सोही क्षेत्रका लागि उनको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको छ । यस विषयमा स्पष्ट पार्दै सिंहले विभिन्न दलहरूबाट प्रस्ताव आएको भए तापनि आफू आफ्नै ुमधेशवादीु दलबाट निर्वाचन लड्ने तयारीमा जुटेको बताएका छन् ।
एमालेले आफूलाई समर्थन गर्ने मनसायले नाम राखेको हुन सक्ने उनको अनुमान छ। यो नयाँ राजनीतिक दलमा उनलाई जनता समाजवादी पार्टीका निवर्तमान सांसद नवल किशोर शाहका छोरा सुमितकुमार शाहले समेत साथ दिएका छन्, जो सप्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीमा छन् ।
निर्वाचनको तयारीका लागि सिंहले आजै मधेश प्रदेश सभाको सदस्य पदबाट राजीनामा दिने तयारी गरेका छन् । २०७९ को निर्वाचनमा जनमत पार्टीबाट प्रदेश सभा सदस्य निर्वाचित भई अर्थ समितिको सभापति र पछि मुख्यमन्त्री बनेका सिंहको राजनीतिक यात्रा अब नयाँ मोडमा पुगेको छ ।
जनमत पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्वसँगको असमझदारीपछि उनले लिएको यो कदमले सप्तरी र समग्र मधेशको चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने कुरालाई अहिले निकै चासोका साथ हेरिएको छ ।














