Logo

४ माघ, काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिद्वारा आह्वान गरिएको राष्ट्रिय सभाको पहिलो बैठक कुनै ठोस कार्यसूचीबिना नै अत्यन्तै संक्षिप्त समयमा टुङ्गिएको छ ।

आइतबार बिहान प्रारम्भ भएको उक्त बैठक केवल पाँच मिनेट मात्र सञ्चालन भएर स्थगित भएको हो । नयाँ अधिवेशनको पहिलो बैठक भएकाले जनसरोकारका विषयमा छलफल हुने अपेक्षा गरिए पनि बैठकमा शून्य समय, विशेष समय वा अन्य कुनै पनि महत्वपूर्ण एजेन्डा समावेश नगरिएका कारण बैठक औपचारिकतामा मात्रै सीमित हुन पुग्यो ।

बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदन समक्ष दुईवटा शोक प्रस्ताव प्रस्तुत गरेका थिए । दिवंगत सदस्यहरूको सम्मानमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेलगत्तै अन्य कुनै विषयमा प्रवेश नगरी अध्यक्ष दाहालले सभा विसर्जनको घोषणा गरेका छन् । कुनै पनि राजनीतिक वा सार्वजनिक महत्वका विषयमा संवाद नै नभई बैठक टुङ्गिएपछि यसले संसद्को प्रभावकारितामाथि समेत प्रश्न उब्जाएको छ ।

पहिलो दिनको बैठक यसरी संक्षिप्त रूपमा सकिएसँगै अब राष्ट्रिय सभाको अर्को बैठक आगामी माघ ९ गतेका लागि तय गरिएको छ । लामो अन्तरालपछि सुरु भएको अधिवेशनको पहिलो गाँसमै ठोस एजेन्डा नहुनुले विधायिकी कार्यप्रतिको उदासिनता झल्काएको भन्दै कतिपयले असन्तुष्टि समेत व्यक्त गरेका छन् । आगामी बैठकमा भने सरकारले विधेयक र अन्य समसामयिक विषयलाई कार्यसूचीमा समावेश गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार