४ माघ, काठमाडौं । महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा आयोजक नेपालले आइतबार थाइल्यान्डसँग ८ विकेटको नमीठो हार व्यहोरेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा १ सय २२ रन जोड्दै अलआउट भएको थियो । सम्झना खड्का र विन्दु रावलले ६ ओभरभित्र ५४ रनको विष्फोटक साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि मध्यक्रमका ब्याटरहरू सस्तोमा समेटिँदा नेपालले बलियो योगफल खडा गर्न सकेन । नेपालका लागि विन्दु रावलले करियरकै उच्च ४४ रन र सम्झना खड्काले २६ रन जोडे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्, जसका कारण नेपालले थाइल्यान्डसामु १२३ रनको सामान्य लक्ष्य मात्र प्रस्तुत गर्न सक्यो ।
थाइल्यान्डले नेपालले दिएको उक्त लक्ष्यलाई निकै सहज ढंगले पछ्याउँदै १६।५ ओभरमै मात्र २ विकेट गुमाएर पूरा गर्यो । थाइल्यान्डको जितमा प्रारम्भिक ब्याटर नात्थीकन चान्थमले ३९ बलमा अविजित ५७ रनको अर्धशतकीय पारी खेल्दै नेपालको बलिङ आक्रमणलाई निस्तेज पारिन् । उनलाई नानपत कोचारियोङकाईले ३२ रन र अफिसरा शुवानचोनराथीले २८ रन बनाएर बलियो साथ दिए। नेपालका तर्फबाट अनुभवी बलर सीता रानामगरले २ विकेट लिए पनि अन्य बलरहरूले थाइल्यान्डका ब्याटरहरूमाथि दबाब सिर्जना गर्न सकेनन्, जसले गर्दा थाइल्यान्डले ऐतिहासिक जित दर्ता गर्न सफल भयो ।
यो हारसँगै नेपालको थाइल्यान्डविरुद्धको खराब लयले निरन्तरता पाएको छ भने सन् २०११ यता नेपालले थाइल्यान्डलाई पराजित गर्न सकेको छैन । ग्लोबल छनोटको समूह ुबीु मा रहेको नेपालले अब जनवरी २२ मा नेदरल्यान्ड्स, २४ मा जिम्बावे र २६ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। विश्वकपमा छनोट हुने लक्ष्य राखेको नेपालका लागि अबका खेलहरू निकै चुनौतीपूर्ण हुने देखिन्छ । १० राष्ट्र सहभागी यस प्रतियोगिताको दुवै समूहबाट शीर्ष ३ टोली सुपर सिक्समा पुग्नेछन् भने अन्त्यमा शीर्ष ४ टोलीले इंग्ल्यान्ड र वेल्समा हुने विश्वकपको टिकट काट्नेछन् ।














