४ माघ, वीरगञ्ज । वीरगञ्ज स्कुल अफ लद्वारा बि.ए.एल.एल.बि. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा विभिन्न व्यक्तित्वहरूको सम्मानका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम क्याम्प प्रमुख तथा वरिष्ठ अधिवक्ता चन्द्रीका प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालय मानविकी तथा कानुन संकायका डीन प्राध्यापक डा. नरेन्द्र कटुवाल रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा सहायक डीन समीप घिमिरेको उपस्थिति रहेको थियो।
कार्यक्रममा बि.ए.एल.एल.बि. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको थियो। साथै, उच्च बार वीरगंजका अध्यक्ष अधिवक्ता शैलेन्द्र वर्मा र पर्सा जिल्ला अदालत बारका अध्यक्ष रामनारायण कुर्मीलाई न्याय क्षेत्र तथा कानुनी शिक्षामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
यसै अवसरमा बार काउन्सिलको ३३औँ परीक्षामा प्रदेशमै छैटौँ स्थान हासिल गर्न सफल अधिवक्ता रितिक यादवलाई विशेष अतिथि अधिवक्ता शिव कोइराला र क्याम्प प्रमुख अधिवक्ता चन्द्रीका प्रसाद पटेलले संयुक्त रूपमा दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा प्रा. डा. हरेराम ठाकुर, सह–प्राध्यापक इन्दुशेखर मिश्र, उप–प्राध्यापक दिलिप सिंह, डा. वासुलाल कर्ण, साहित्यकार प्रमोद कुमार पाण्डे ‘हेरम्ब’, पर्सा बारका पूर्व अध्यक्ष अधिवक्ता रामाशिस यादव, सुनिल यादव, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक, सरकारी वकिल उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठ, सहायक जिल्ला न्यायाधिवक्ता महेस अर्याल, बालरोग विशेषज्ञ डा. इलताफ अन्सारीलगायत शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दोस्रो वर्षका विद्यार्थीहरूले प्रस्तुत गरेको आकर्षक नृत्यले कार्यक्रमलाई थप रमाइलो बनाएको थियो। मन्तव्यका क्रममा प्रमुख अतिथि डीन डा. कटुवालले राजर्षि जनक विश्वविद्यालय अन्तर्गत २ वर्षे एल.एल.एम., ३ वर्षे एल.एल.बि. र ५ वर्षे बि.ए.एल.एल.बि. कार्यक्रम सफलतापूर्वक सञ्चालनमा आएको बताउँदै छिट्टै बिरगंज स्कुल अफ लमै यी तीनै कार्यक्रम सञ्चालन गरिने घोषणा गर्नुभयो।
विशिष्ट अतिथि सहायक डीन घिमिरेले विद्यार्थीहरूलाई इमानदार, अनुशासित र मेहनती भएर अध्ययनमा लाग्न प्रेरणा दिनुभयो भने विशेष अतिथि अधिवक्ता शिव कोइरालाले कानुनका विद्यार्थीहरूलाई जीवनभर अध्ययनशील रहन आग्रह गर्नुभयो।
कार्यक्रमको सञ्चालन दोस्रो वर्षका विद्यार्थी अम्बिका कर्ण र आशुतोष महतोले गर्नुभएको थियो। कानुनी शिक्षा, विद्यार्थी प्रेरणा तथा उपलब्धिको सम्मानलाई केन्द्रमा राखेर सम्पन्न यस कार्यक्रमले बिरगंज स्कुल अफ ललाई क्षेत्रीय कानुनी शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ।














