४ माघ, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक सत्ता सङ्घर्षले यतिबेला त्रिकोणात्मक मोड लिएको छ ।
विशेष महाधिवेशनमार्फत गगन थापाको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेको छ । नेता पूर्णबहादुर खड्काको नेतृत्वमा विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउद लगायतका प्रभावशाली नेताहरू आयोगको निर्णय खारेजीको माग गर्दै अदालत पुगे पनि पार्टीभित्रको अर्को बलियो पक्ष डा। शेखर कोइराला समूह भने यो कानुनी लडाइँबाट टाढै देखिएको छ ।
देउवा पक्षले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै अदालतको ढोका ढकढकाइरहँदा शेखर कोइराला समूहले भने यस प्रक्रियामा आफ्नो समर्थन नरहेको स्पष्ट पारेको छ । सो समूहका नेता सञ्जय गौतमले अदालत जाने विषयमा आफूहरूको व्यक्तिगत र सामूहिक सहमति नरहेको बताउँदै पछिल्लो राजनीतिक परिस्थितिबारे सामूहिक धारणा बनाउन छुट्टै भेला बोलाइएको जानकारी दिएका छन्। जसका कारण संस्थापन इतर मानिने कोइराला समूहले अहिलेको विवादमा मध्यमार्गी बाटो रोज्न खोजेको देखिन्छ ।
यसै बीच, कोइराला पक्षीय नेताहरूको भेला आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा तय गरिएको छ। एकातिर देउवा पक्ष अदालतमा न्याय खोजिरहेको र अर्कोतिर गगन थापा नेतृत्वको नयाँ समिति पार्टी सञ्चालनको तयारीमा जुटेको अवस्थामा शेखर समूहको यो छुट्टै भेलालाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ । पार्टी फुटको संघारमा पुगेको आशंका भइरहँदा नेता कोइरालाले भने कार्यकर्तालाई ढुक्क रहन र संस्थाको निर्णयलाई सम्मान गर्न आग्रह गर्दै आएका छन् ।














