४ माघ, काठमाडौं । नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनमा तीन चर्चित मेयरहरु चुनावी मैदानमा होमिँदैछन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन), भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धरानका मेयर हर्क साम्पाङ एकसाथ स्थानीय सरकारबाट संघीय संसद छिर्नेगरी अघि बढेका छन् । तर, अझैसम्म पनि उनीहरुले राजिनामा भने दिएका छैनन् । काठमाडौंका मेयर शाहले आगामी प्रतिनिधिसभा निर्वाचनको मैदानमा उत्रिने निधो गरे पनि तत्काल मेयर पदबाट राजीनामा नदिने भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी यात्रा तय गर्न लागेका साहले कानुनी परामर्शपछि उम्मेदवारी दर्ताकै समयमा पद स्वतः रिक्त हुने प्रावधानलाई उपयोग गर्ने रणनीति बनाएका हुन् । सुरुवाती समयमा पद त्याग गर्ने चर्चा चले पनि सचिवालयले उम्मेदवारी मनोनयनसँगै पद रिक्त हुने कानुनी व्यवस्था रहेकाले तत्कालै राजीनामा दिनु आवश्यक नरहेको प्रस्ट पारेको छ ।
यसैबीच, बालेन आजै रास्वपाको केन्द्रीय समिति बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्दैछन् भने उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट उम्मेदवारी दिने तयारीले राजनीतिक सरगर्मी ह्वात्तै बढाएको छ ।
रेणुको ‘वेट एन्ड वाच रणनीति’
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले पनि प्रतिनिधिसभाको टिकट निश्चित भए पनि तत्कालै पदबाट राजीनामा नदिने मुड बनाएकी छन्। माओवादी केन्द्रको तर्फबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्ने तयारीमा रहेकी दाहालले राजीनामा पत्र साथमै बोके पनि त्यसलाई मनोनयन दर्ताकै दिन मात्र सार्वजनिक गर्ने योजना बनाएकी छन् । उनले महानगरमा गरेको विकास निर्माणका कामलाई चुनावी मुख्य एजेन्डा बनाउँदै अन्तिम समयसम्म पदीय जिम्मेवारीमै रहेर चुनावी माहोल आफ्नो पक्षमा पार्ने दाउ हेरेकी छन् । चितवन–३ मा रास्वपाकी सोबिता गौतम र राप्रपाका विक्रम पाण्डेसँगको रोचक भिडन्त तय भइरहँदा रेणुले आफ्नो प्रशासनिक शक्ति र प्रभावलाई मनोनयनको दिनसम्मै कायम राख्ने देखिन्छ ।
हर्क साम्पाङ पनि अन्तिम समयसम्म जिम्मेवारीमै
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले संघीय राजनीतिमा फड्को मार्नका लागि अन्तिम तयारी गरिरहँदा तत्कालै पद त्याग्न हतार गरेका छैनन्। आगामी मंगलबार मात्र राजीनामा दिएर मनोनयन दर्ता गर्ने मनस्थितिमा रहेका साम्पाङले धरानको खानेपानी र श्रमदान अभियानलाई केन्द्रसम्म पुर्याउने अठोट लिएका छन् । कुन दल वा स्वतन्त्र रूपमा लड्ने भन्ने कुरालाई ‘सस्पेन्स’ राखेका साम्पाङले पनि उम्मेदवारी दर्ताको अन्तिम समयसम्म नगरको कमान्ड सम्हाल्दै आफ्नो प्रभाव विस्तार गरिरहेका छन् ।
स्थानीय तहका यी तीन हाइ–प्रोफाइल मेयरहरूले तत्काल राजीनामा नदिई उम्मेदवारी दर्ताको कानुनी प्रक्रियासम्म कुर्ने रणनीति लिनुले आगामी निर्वाचनमा स्थानीय र संघीय राजनीतिका बीचमा रोचक टक्कर हुने संकेत गरेको छ ।














