४ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहँदा प्रधानमन्त्री सुशीला कार्कीले समसामयिक राजनीतिक अवस्था र निर्वाचन व्यवस्थापनका विषयमा छलफल गर्न मन्त्रीहरूसहितको विशेष बैठक बोलाउनुभएको छ ।
आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने यस बैठकमा निर्वाचन आचारसंहिताको पूर्ण पालना, शान्ति सुरक्षाको अवस्था र निर्वाचनलाई स्वच्छ एवं मर्यादित बनाउने विषयमा केन्द्रित रहेर विचार(विमर्श हुने बताइएको छ । उम्मेदवारी दर्ताको समय नजिकिँदै गर्दा सरकारले चुनावी प्रक्रियालाई थप व्यवस्थित र निष्पक्ष बनाउन सरोकारवाला निकायहरूसँगको समन्वयलाई तीव्रता दिएको हो ।
दलहरूको सकस सम्बोधन गर्ने तयारी
निर्वाचन आयोगले आगामी मंगलबार (माघ ६ गते) का लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको कार्यसूची तय गरे पनि प्रमुख राजनीतिक दलहरूले आन्तरिक व्यवस्थापनमा कठिनाइ भएको भन्दै समय थप गर्न माग गरिरहेका छन् । उम्मेदवार चयनको रस्साकस्सी र दलहरूभित्र देखिएको प्राविधिक जटिलताका कारण मनोनयनको मिति केही दिन पछि सार्न आयोगलाई परिरहेको दबाबका सन्दर्भमा पनि बालुवाटार बैठकमा छलफल हुने बुझिएको छ । प्रधानमन्त्रीले निर्वाचन आयोगको स्वायत्ततालाई ध्यानमा राख्दै दलहरूको जायज मागलाई कसरी सम्बोधन गर्न सकिन्छ र सरकारले कस्तो सहजीकरण गर्नुपर्छ भन्ने विषयमा मन्त्रीहरूसँग परामर्श गर्ने कार्यसूची रहेको छ ।
बालुवाटारको बैठकप्रति चासो
पछिल्लो समय नेपाली कांग्रेसभित्रको आधिकारिकता विवाद र निर्वाचन आयोगको कार्यतालिका फेरबदलको संकेतले राजनीतिक वृत्तमा केही अन्योल सिर्जना गरेको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीले बोलाउनुभएको यो बैठकले निर्वाचनको सुनिश्चितता र सरकारको दृढतालाई स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
एकातिर काठमाडौँका मेयर बालेन साहको सम्भावित उम्मेदवारी र अर्कोतिर ठूला दलहरूको आन्तरिक कलहका बीच सरकारले निर्वाचनको वातावरण बिग्रन नदिन चालेको यो कदमलाई निकै महत्त्वका साथ हेरिएको छ । बैठकपछि निर्वाचनको संशोधित कार्यतालिका वा चुनावी सुरक्षाका सम्बन्धमा सरकारले कुनै ठोस निर्णय लिन सक्ने अनुमान गरिएको छ ।














