Logo

४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले पदबाट राजीनामा दिएसँगै उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छिन् ।

स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को व्यवस्थाअनुसार प्रमुखको पद रिक्त भएमा वा राजीनामा दिएमा स्वतः उपप्रमुखले कार्यबाहकको रूपमा दैनिक कार्यसम्पादन गर्ने प्रावधानबमोजिम डंगोलले यो जिम्मेवारी पाएकी हुन् । आइतबार बालेनले महानगरको नेतृत्व त्यागेर संघीय राजनीतिको यात्रा तय गरेपछि महानगरको प्रशासनिक र राजनीतिक नेतृत्वको बागडोर डंगोलको काँधमा आइपुगेको छ। युवा पुस्तामाझ लोकप्रिय डंगोलले अब बाँकी कार्यकाल वा अर्को व्यवस्था नभएसम्म मुलुककै ठूलो महानगरको नेतृत्व गर्नेछिन् ।

मेयर बालेन साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय पुग्नुअघि नै पदबाट राजीनामा दिने निष्कर्षमा पुगेका थिए । सुरुमा राजीनामाको विषयलाई लिएर केही कानुनी अन्योल र दोधार उत्पन्न भएकाले पूर्व निर्धारित समयभन्दा केही ढिला गरी उनले राजीनामा बुझाएका हुन् ।

निर्वाचन आयोगमा दर्ता भएको रास्वपाको वरिष्ठ नेताको हैसियत र आगामी निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट लड्ने महत्त्वाकाङ्क्षी योजनाका बीच बालेनले नैतिक आधारमा पद छाड्नु उपयुक्त ठानेका हुन् । बालेनले पद त्याग गरेलगत्तै महानगर सचिवालयले सुनिता डंगोललाई कार्यबाहक प्रमुखको रूपमा काम अघि बढाउन बाटो प्रशस्त गरेको छ ।


सम्बन्धित समाचार