४ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको नेतृत्वबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएका बालेन्द्र साह (बालेन) ले आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेताको रूपमा औपचारिक कार्यभार सम्हालेका छन् ।
रास्वपासँगको ऐतिहासिक ७ बुँदे सहमति र पार्टी प्रवेशको २१ औँ दिनमा बालेनले चस्मतिस्थित केन्द्रीय कार्यालय घण्टीघर पुगेर आफ्नो पदभार ग्रहण गरेका हुन् । मेयरको पदीय जिम्मेवारीबाट मुक्त भएलगत्तै पार्टी राजनीतिमा सक्रिय भएका साहलाई रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिसकेको छ, जसले गर्दा उनको यो पदभार ग्रहणलाई वैकल्पिक राजनीतिको एउटा महत्त्वपूर्ण खुड्किलोका रूपमा हेरिएको छ ।
पदभार ग्रहणका लागि घण्टीघर पुगेका बालेनलाई रास्वपा सभापति रवि लामिछाने, उपसभापति डिपी अर्याल लगायतका शीर्ष नेताहरूले भव्य स्वागत गरेका थिए । स्वागत कार्यक्रममा सभापति लामिछानेले बालेनको आगमन र सक्रियताले ‘मिसन ८४’ (फागुन २१ को निर्वाचन) लाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
पार्टी कार्यालयमा उपस्थित नेता तथा कार्यकर्ताहरूले बालेनको पदभार ग्रहणलाई उत्सवको रूपमा मनाउँदै नाराबाजी गरेका थिए । सो अवसरमा बालेनले पार्टीका वरिष्ठ नेताको हैसियतमा पहिलो पटक औपचारिक कागजातहरूमा हस्ताक्षर गर्दै आफ्नो पदीय जिम्मेवारीको सुरुआत गरेका हुन्।















