४ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ पार्टीको टिकट वितरणको निर्णयप्रति असहमति जनाउँदै नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई ले पार्टी कार्यालयमा ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन्।
हिजो (शनिबार) बसेको नेकपा एमाले सचिवालय बैठकले देशभरका १४० निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको थियो। सो निर्णयप्रति असहमति जनाउँदै उपमहासचिव भट्टराईले नोट अफ डिसेन्ट लेख्ने घोषणा गरेका थिए। सोहीअनुसार उनले आइतबार पार्टी कार्यालय पुगेर औपचारिक रूपमा नोट अफ डिसेन्ट दर्ता गराएको एमाले कार्यालय स्रोतले जनाएको छ।
स्रोतका अनुसार भट्टराईले चार बुँदामा असहमति जनाउँदै नोट अफ डिसेन्ट लेखेका हुन्। टिकट वितरणमा स्पष्ट र न्यायोचित मापदण्ड नअपनाइएको, प्रतिनिधिसभा उम्मेदवार चयनका क्रममा प्रतिस्पर्धामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको तथा बाह्य राजनीतिक चुनौतीलाई पर्याप्त रूपमा ध्यान नदिइएको विषय उनले उठाएका छन्।
भट्टराईले विगतमा चुनाव लड्दै आएको ताप्लेजुङ निर्वाचन क्षेत्रमा समेत एमालेले अहिलेसम्म उम्मेदवार टुंगो नलगाएको उल्लेख गरिएको छ। ताप्लेजुङबारे पार्टीको निर्णय सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई विचलित नहुन अपिल गरेका थिए।
उनले लेखेका छन्, “निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु। अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु। हाम्रो यात्रा लामो र गौरवपूर्ण छ।”














