४ माघ, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहले आगामी माघ ६ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मनोनयन मिति स्थगन गर्न माग गर्दै निर्वाचन आयोग मा निवेदन दर्ता गराएको छ।
शनिबार बसेको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आयोगले गत शुक्रबार गरेको निर्णयविरुद्ध आज सर्वोच्च अदालत मा रिट निवेदन दर्ता गरेलगत्तै निर्वाचन कार्यक्रम स्थगनको माग गर्दै आयोगमा निवेदन दर्ता गराइएको हो।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल, पूर्वमहान्यायाधिवक्ता खम्बाबहादुर खाती र अधिवक्ता केशवराज जोशी ले निर्वाचन आयोग पुगेर निवेदन दर्ता गराएका हुन्।
अधिवक्ता जोशीका अनुसार, “गत शुक्रबार आयोगले गरेको निर्णयले मुलुकको लोकतान्त्रिक र पुरानो पार्टीलाई निर्वाचनबाट वञ्चित गर्न खोजेको देखिएकाले सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।”
निवेदनमा देउवा समूहले सर्वोच्च अदालतमा दायर रिटको अन्तिम किनारा नलागेसम्म प्रतिनिधिसभा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगन गर्न माग गरेको छ। नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद निरोपण नगरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ का दफा ४३, ४४, ४५ र ४६ अनुसार गर्नुपर्ने प्रक्रिया नअपनाई एकपक्षीय रूपमा निर्णय गरिएको दाबी निवेदनमा गरिएको छ।
निवेदनमा आयोगको निर्णय गैरसंवैधानिक, गैरकानुनी तथा यसअघि आयोग स्वयंले गरेका निर्णय र सम्मानित सर्वोच्च अदालतबाट प्रतिपादित नजिर र सिद्धान्तविपरीत रहेको उल्लेख गरिएको छ।
देउवा समूहले आज सर्वोच्च अदालतमा उत्प्रेषण परमादेश मागसहित रिट दर्ता भई माघ ६ गतेका लागि पेशीसमेत तोकिएको जनाउँदै, उक्त मुद्दाको न्यायिक निरोपण नभएसम्म आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मनोनयनलगायत सम्पूर्ण निर्वाचन कार्यतालिका स्थगन गर्न माग गरेको छ।
निवेदनका साथ सर्वोच्च अदालतमा दायर रिट निवेदन र पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपीसमेत संलग्न गरिएको छ।














