Logo

५ माघ, वीरगञ्ज । प्रतिनिधिसभा निर्वाचनको संघारमा मधेस प्रदेशको राजनीतिमा ठूलो उथलपुथल आएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता एवं पूर्वमन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जसपा नेपालसँग पार्टी एकीकरण भएको १६ दिनमै यादवले सो पार्टी परित्याग गरी एमाले रोजेका हुन् । उनीहरूको यो कदमलाई आगामी निर्वाचन र मधेसको राजनीतिक समीकरणमा निर्णायक घटनाक्रमका रूपमा हेरिएको छ ।

एमाले केन्द्रीय सदस्य प्रभु हजराका अनुसार आइतबार मध्यराति भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा आयोजित एक विशेष कार्यक्रमका बीच यादव र सिंह एमालेमा प्रवेश गरेका हुन् । अध्यक्ष ओलीले दुवै नेतालाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका थिए।

प्रतिनिधिसभा निर्वाचनमा जसपाबाट उम्मेदवार बन्न नपाउने स्थिति देखिएपछि असन्तुष्ट बनेका यादवले अन्ततः एमालेको बाटो रोजेका हुन् । एमाले प्रवेशसँगै यादव अब पर्सा निर्वाचन क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने निश्चितप्रायः भएको छ । यसअघि पनि उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

वीरगञ्जका लोकप्रिय मेयर राजेशमान सिंह र पूर्वमन्त्री यादवको आगमनले पर्सामा एमालेको साङ्गठनिक आधार थप मजबुत बनेको विश्लेषण गरिएको छ । एमालेले यस प्रवेशलाई आसन्न निर्वाचनमा मधेस प्रदेशमा आफ्नो वर्चस्व स्थापित गर्ने रणनीतिक सफलताका रूपमा लिएको छ ।

मधेस आन्दोलनबाट उदाएका प्रभावशाली अनुहारहरू एमालेमा प्रवेश गरेपछि पर्सा-१ मा चुनावी प्रतिस्पर्धा अझ रोचक हुने देखिएको छ । विशेषगरी युवा मतदाता र स्थानीय राजनीतिमा राम्रो पकड भएका यी नेताहरूको बहिर्गमन जसपा नेपालका लागि भने ठूलो क्षतिका रूपमा हेरिएको छ ।


सम्बन्धित समाचार