५ माघ, वीरगञ्ज । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) ले पर्सा क्षेत्र नम्बर ३ मा रणनीतिक फेरबदल गरेको छ। एमालेले यसअघि चर्चामा रहेका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य प्रमोद जयसवालको स्थानमा युवा उद्यमी रुपेश पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमाले पर्सा जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य प्रभु हजराका अनुसार जयसवालले यसपटक प्रतिनिधिसभाको चुनाव नलड्ने इच्छा पार्टीको माथिल्लो तहमा व्यक्त गरेपछि नयाँ उम्मेदवारको खोजी गरिएको थियो । “जयसवालजीले प्रदेशकै राजनीतिमा केन्द्रित रहने जानकारी दिनुभएको थियो, त्यसपछि पार्टीले रुपेश पाण्डेलाई अघि सार्ने निर्णय गर्यो,” हजराले बताए ।
पर्सामा सफल युवा उद्यमीका रूपमा परिचित पाण्डेको उम्मेदवारीलाई एमालेभित्र नयाँ र युवालाई राजनीतिमा जोड्ने प्रयासका रूपमा हेरिएको छ । व्यापारिक पृष्ठभूमिबाट आएका पाण्डेको प्रवेशले पर्सा-३ को चुनावी प्रतिस्पर्धामा नयाँ तरङ्ग ल्याउने अपेक्षा गरिएको छ ।
जिल्ला इन्चार्ज हजराका अनुसार पार्टी सचिवालयले पाण्डेको नाममा अन्तिम निर्णय गरिसकेको छ । पर्साका अन्य क्षेत्रहरूमा पनि उम्मेदवारको टुङ्गो लगभग लागिसकेको अवस्थामा क्षेत्र नम्बर ३ मा भएको यो परिवर्तनलाई एमालेको रणनीतिक चालका रूपमा लिइएको छ ।
पार्टी स्रोतका अनुसार जयसवाल स्वयंले पाण्डेको पक्षमा चुनावी कमाण्ड सम्हाल्ने अपेक्षा गरिएको छ । अनुभवी नेताको मार्गदर्शन र युवा उम्मेदवारको जोसलाई सँगै अघि बढाउने एमालेको रणनीतिले चुनावी अभियानलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार एमालेको यो निर्णयले पर्सा-३ मात्र होइन, समग्र जिल्लाको चुनावी समीकरणमा प्रभाव पार्ने देखिएको छ । यस कदमपछि अन्य राजनीतिक दलहरू पनि आफ्ना उम्मेदवार र रणनीतिबारे पुनरावलोकन गर्न बाध्य हुने आँकलन गरिएको छ ।















