Logo

५ माघ, काठमाडौं । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला बम्जनलाई जिउँदै जलाएर हत्या गरिएको भनिएको बीभत्स घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका सासू र नन्दलाई अदालतले थुनामा पठाउने निर्णय गरेको छ ।

गत पुस ६ गते आफ्नै घरभित्र पेट्रोल छर्किएर आगो लगाई सुशीलाको हत्या गरेको अभियोगमा पक्राउ परेका सासू मायाँरानी बम्जन र नन्द मीना लामालाई सिन्धुली जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजलासले प्रमाण र प्रारम्भिक अनुसन्धानको आधारमा अभियुक्तद्वयलाई थुनामा राखी मुद्दाको किनारा लगाउन आदेश दिएसँगै आइतबार नै उनीहरूलाई सिन्धुली कारागार पठाइएको छ ।

प्रहरीको सूक्ष्म अनुसन्धान र संकलित प्रमाणका आधारमा यो घटना योजनाबद्ध हत्या भएको देखिएपछि कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको थियो । यद्यपि, यस घटनाका अन्य दुई मुख्य अभियुक्तहरू भने अझै कानुनी दायरामा आउन बाँकी नै छन्। घटनामा संलग्न भनिएका ससुरा दुर्गामान बम्जन हाल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत रहेकाले प्रहरीले उनलाई नियन्त्रणमा लिएको छैन भने मुख्य योजनाकारको रूपमा हेरिएका सुशीलाका श्रीमान् सूर्यबहादुर बम्जन हालसम्म दक्षिण कोरियाबाट नेपाल फर्किएका छैनन् । प्रहरीले दुवै जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्दै कानुनी प्रक्रिया तीव्र बनाएको जनाएको छ ।

यो घटना सार्वजनिक भएलगत्तै स्थानीयवासी र पीडित परिवारले सुशीलाका लागि न्याय माग्दै निरन्तर दबाब दिँदै आएका थिए । आफ्नै घरभित्र सुरक्षा पाउनुको साटो परिवारकै सदस्यबाट यस्तो अमानवीय र क्रूर व्यवहार भोग्नुपरेको यस घटनाले समाजलाई स्तब्ध बनाएको छ । अदालतको पछिल्लो आदेशले पीडित परिवारमा केही हदसम्म न्यायको आशा जगाएको भए पनि फरार रहेका मुख्य अभियुक्तहरू पक्राउ नपर्दासम्म यो लडाइँ अधुरै रहने स्थानीयको बुझाइ छ । प्रहरीले बाँकी अभियुक्तहरूको खोजी कार्य र थप प्रमाण संकलनलाई प्राथमिकताका साथ अघि बढाएको बताएको छ ।


सम्बन्धित समाचार