Logo

५ माघ, काठमाडौं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले आशन्न प्रतिनिधिसभा निर्वाचन नलड्ने निर्णय गरेका छन्। पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उनले २१ फागुनमा हुने निर्वाचनमा उम्मेदवार नबन्ने भएका हुन्।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिसमा परेका थिए। तर उनीनिकट स्रोतले खड्का निर्वाचनमा नउत्रने निर्णयमा पुगेको पुष्टि गरेको छ।

खड्कानिकट एक नेताका अनुसार उनी स्वयं उम्मेदवार नबने पनि निर्वाचन अभियानमा सक्रिय रहनेछन्। “पूर्ण दाइ चुनाव लड्नुहुन्न, तर पार्टीको पक्षमा चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ र कांग्रेसलाई जिताउन सक्रिय हुनुहुन्छ,” ती नेताले बताए।

नेता खड्काले पार्टीसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको उनीनिकट स्रोतले जनाएको छ।

“अदालतको निर्णय गगन थापा पक्षमा आए सबैलाई मिलाएर पार्टीलाई एकढिक्का बनाउने, संस्थापन पक्षमा आए गगनजीहरूलाई पनि समेटेर पार्टीलाई एकताबद्ध राख्ने उहाँको भनाइ छ,” स्रोतले भन्यो।

खड्काको यो निर्णयलाई पार्टीभित्रको विवाद समाधान र कांग्रेसको एकता जोगाउने प्रयासका रूपमा हेरिएको छ।


सम्बन्धित समाचार