५ माघ, बागलुङ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बागलुङमा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। सहमतिअनुसार बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा र क्षेत्र नम्बर २ मा नेकपाले उम्मेदवार उठाउने भएका छन्।
सोमबार नेकपाका केन्द्रीय कार्यालय सचिव गणेशमान पुन र जनमोर्चाका केन्द्रीय सचिव घनश्याम न्यौपानेले संयुक्त विज्ञप्ति जारी गर्दै दुई दलबीच तालमेलको औपचारिक घोषणा गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, ‘२०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा निर्वाचनमा बागलुङ जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।’ सहमतिअनुसार बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नेकपाले सहयोग र समर्थन गर्ने तथा क्षेत्र नम्बर २ मा नेकपाका उम्मेदवारलाई जनमोर्चाले सहयोग र समर्थन गर्ने उल्लेख गरिएको छ। साथै, दुवै पार्टीले सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
तालमेलअनुसार बागलुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ बाट नेकपाका ज्ञाननाथ गैरे उम्मेदवार बनेका छन्।
२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा बागलुङबाट तत्कालीन नेकपा (माओवादी केन्द्र) का देवेन्द्र पौडेल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी निर्वाचित भएका थिए। यसपटक देवेन्द्र पौडेल नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् भने चित्रबहादुर केसी राष्ट्रिय जनमोर्चाको समानुपातिक तर्फको सूचीमा पहिलो नम्बरमा परेका छन्।















