६ माघ, रौतहट । चर्चित पत्रकार ऋषि धमला प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय धमलाले रौतहटको क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्ने तयारी गरेका हुन् । उनले पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट उम्मेदवारी दिन लागेको जानकारी प्राप्त भएको छ ।
धमलाकी पत्नी एलिजा गौतमले सामाजिक सञ्जाल फेसबुकमार्फत एक तस्बिर सार्वजनिक गर्दै यस विषयको औपचारिक पुष्टि गरेकी हुन् । गौतमका अनुसार धमलाले आम जनता पार्टीको चुनाव चिन्ह ‘मोबाइल’ लिएर चुनावी मैदानमा उत्रिने निर्णय गरेका छन् । ‘रिपोर्टर्स क्लब नेपाल’का अध्यक्ष समेत रहेका धमलाले पछिल्लो समय राजनीतिक भेटघाटलाई तीव्र बनाएका थिए ।
रौतहट क्षेत्र नम्बर ४ मा धमलाको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सञ्चार क्षेत्रमा आक्रामक र सक्रिय छविका कारण चर्चामा रहने धमलाले अब संसदीय राजनीतिमा आफ्नो भाग्य परीक्षण गर्न लागेका हुन् । उनको उम्मेदवारी घोषणासँगै सो क्षेत्रको चुनावी सरगर्मी अझ बढ्ने देखिएको छ ।















