६ माघ, वीरगञ्ज । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुङ्गो लगाएको छ । सोमबार राति अबेर बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले जिल्लाका सबै क्षेत्रमा उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो ।
पार्टीले पर्साको निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य अनिल रुंग्टालाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ । त्यस्तै, क्षेत्र नम्बर २ बाट अजयकुमार चौरसिया, क्षेत्र नम्बर ३ बाट सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ बाट रमेश रिजालले टिकट पाएका छन् ।
कांग्रेसले यसपटक पर्सामा उम्मेदवार चयन गर्दा नयाँ प्रयोग गर्नुको सट्टा पुराना र अनुभवी नेताहरूलाई नै प्राथमिकता दिएको छ । टिकट पाउने उम्मेदवारहरूमध्ये रुंग्टाबाहेक अन्य सबैले अघिल्ला निर्वाचनहरूमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरिसकेका छन् । गत निर्वाचनमा क्षेत्र नम्बर २ बाट चौरसिया र क्षेत्र नम्बर ४ बाट रिजाल निर्वाचित भएका थिए ।
पार्टीभित्रको लामो रस्साकस्सीपछि पुराना अनुहारलाई नै दोहोर्याउने निर्णयले जिल्लाको चुनावी समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने चासोका साथ हेरिएको छ ।














