६ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा जिल्लाका चार निर्वाचन क्षेत्रमध्ये तीन वटामा उम्मेदवारको टुङ्गो लगाएको छ । रास्वपाका केन्द्रीय सदस्य नन्दन यादवका अनुसार पार्टीले क्षेत्र नम्बर १, ३ र ४ मा उम्मेदवार निश्चित गरेको हो ।
पार्टीको निर्णयअनुसार पर्सा क्षेत्र नम्बर १ बाट होटल व्यवसायी एवं रास्वपाका जिल्ला सभापति हरि पन्तले टिकट पाएका छन् । यसअघि यो क्षेत्रमा नेकपा एमालेबाट रास्वपा प्रवेश गरेका शम्भु गुप्ताको नाम चर्चामा रहे पनि अन्ततः पार्टीले पन्तलाई नै चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो । यस्तै, क्षेत्र नम्बर ३ बाट रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ बाट टेकबहादुर शाक्य उम्मेदवार चयन भएका छन् ।
पर्सा क्षेत्र नम्बर २ मा भने उम्मेदवार चयन प्रक्रिया पेचिलो बनेको छ । सो क्षेत्रबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुको नाम निकै चर्चामा रहे पनि पार्टीले आधिकारिक पुष्टि गरिसकेको छैन । वडाध्यक्ष कानुका साथै प्रमेश्वर कलवार र परबेज अख्तरले पनि टिकटमा दाबी नछाडेका कारण निर्णय प्रक्रिया लम्बिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए ।
“क्षेत्र नम्बर २ का विषयमा अहिले बिहान पुनः छलफल गरी उम्मेदवारको टुङ्गो लगाइनेछ,” यादवले बताए । नयाँ शक्ति र वैकल्पिक राजनीतिको नारासहित चुनावी मैदानमा उत्रिएको रास्वपाले पर्सामा उम्मेदवार चयन गर्दा स्थानीय प्रभाव र व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई प्राथमिकता दिएको देखिन्छ ।














