Logo

६ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ताको अन्तिम समयमा पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टुङ्गो लगाएको छ। पार्टीले यसपटक पर्सामा स्थापित दलहरूलाई चुनौती दिन सबै निर्वाचन क्षेत्रमा नयाँ र व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरूलाई चुनावी मैदानमा उतारेको हो ।

रास्वपा पर्साका जिल्ला सभापति हरि पन्तका अनुसार लामो आन्तरिक छलफल र गृहकार्यपछि पार्टीले उम्मेदवारहरूको नामावलीलाई अन्तिम रूप दिएको हो । पार्टीको निर्णयअनुसार क्षेत्र नम्बर १ बाट स्वयं जिल्ला सभापति एवं होटल व्यवसायी हरि पन्तले उम्मेदवारी दिने भएका छन् ।

यसैगरी, क्षेत्र नम्बर २ बाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील साह कानुलाई उम्मेदवार बनाइएको छ । वडाध्यक्ष कानुको उम्मेदवारीलाई लिएर केही समय रस्साकस्सी चले पनि अन्ततः पार्टीले उनलाई नै टिकट सुम्पेको हो । त्यस्तै, क्षेत्र नम्बर ३ बाट रामाकान्त चौरसिया र क्षेत्र नम्बर ४ बाट टेकबहादुर शाक्य रास्वपाका तर्फबाट उम्मेदवार चयन भएका छन् ।

“हामीले जनताको चाहनाअनुसार यसपटक पर्साका चारै क्षेत्रमा स्वच्छ छवि भएका र नयाँ अनुहारलाई अघि सारेका छौँ,” जिल्ला सभापति पन्तले भने, “हाम्रो मुख्य उद्देश्य पुराना दलहरूको सिन्डिकेट तोड्दै वैकल्पिक राजनीतिलाई स्थापित गर्नु हो।”

मनोनयन दर्ताको केही समयअघि मात्रै उम्मेदवार टुङ्ग्याएको रास्वपाले आजै तामझामका साथ निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ। नयाँ शक्ति र ‘घण्टी’ चुनाव चिह्नको लहरका बीच रास्वपाका यी उम्मेदवारहरूले पर्साको चुनावी नतिजामा कस्तो प्रभाव पार्छन् भन्ने विषयलाई चासोका साथ हेरिएको छ।


सम्बन्धित समाचार