६ माघ, वीरगञ्ज । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ बाट युवा उम्मेदवार सीए (चार्टर्ड एकाउन्टेन्ट) कृष्ण मुरारी प्रजापतिलाई मैदानमा उतारेको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ निवासी प्रजापतिलाई पार्टीले औपचारिक रूपमा टिकट प्रदान गर्दै आफ्नो उम्मेदवार घोषणा गरेको हो ।
उज्यालो नेपाल पार्टीका पर्सा जिल्ला अध्यक्ष रामबाबु प्रसाद यादव र केन्द्रीय सदस्य रणधिर कुमार वर्णवालको रोहबरमा आयोजित एक कार्यक्रमका बीच प्रजापतिलाई चुनावी टिकट हस्तान्तरण गरिएको हो । कार्यक्रममा पार्टी नेतृत्वले राजनीतिमा युवाको सक्रिय सहभागिता, व्यावसायिक योग्यता र इमानदार छविलाई स्थापित गर्न प्रजापतिलाई छनोट गरिएको स्पष्ट पारेको छ ।
पार्टीका जिल्ला अध्यक्ष यादवले पर्सा क्षेत्र नम्बर २ मा व्याप्त बेथिति अन्त्य गर्न र सुशासन कायम गर्न नयाँ सोच र ऊर्जावान् युवाको आवश्यकता रहेको बताए । उनले भने, “हामीले जनतामाझ नयाँ विकल्पका रूपमा पढेलेखेका र दक्ष युवालाई अघि सारेका छौँ, जसले विकास र जनमुखी राजनीतिको नेतृत्व गर्नेछन्।”
टिकट प्राप्त गरेपछि आफ्नो प्रतिक्रिया दिँदै सीए कृष्ण मुरारी प्रजापतिले उज्यालो नेपाल पार्टीको नीति र सिद्धान्तलाई केन्द्रमा राखेर चुनावी अभियानमा होमिएका बताए। उनले जनअपेक्षा अनुसार सुशासन र आर्थिक समृद्धिका मुद्दालाई प्रमुखताका साथ उठाउने प्रतिबद्धता समेत व्यक्त गरे ।















