Logo

६ माघ, काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवाद र नेतृत्वको लडाइँ अब सर्वोच्च अदालतको संवैधानिक परीक्षणको घेरामा पुगेको छ ।

गगन थापा र विश्वप्रकाश शर्मा पक्षले आयोजना गरेको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नयाँ कार्यसमितिलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा पक्षले दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा उक्त मुद्दाको पेसी चढेको छ, जसले कांग्रेसको भविष्यको राजनीतिक दिशा तय गर्न निर्णायक भूमिका खेल्ने देखिएको छ । विशेष महाधिवेशनलाई ुअवैधानिकु ठहर गर्न माग गर्दै देउवा पक्षले निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर कानुनी उपचार खोजेको हो ।

यसअघि निर्वाचन आयोगले थापा–शर्मा नेतृत्वको नयाँ कार्यसमितिलाई नै आधिकारिकता प्रदान गरेपछि असन्तुष्ट बनेको देउवा समूहले अदालतको ढोका ढकढकाएको थियो। पार्टीको विधान मिचेर र प्रक्रिया नपुर्‍याई विशेष महाधिवेशन गरिएको दाबी रिट निवेदकहरूको छ ।

पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको नारासहित अघि बढेको संस्थापन इतर पक्षले विशेष महाधिवेशनमार्फत नेतृत्व हत्याएपछि कांग्रेस दुई धारमा विभाजित भएको छ । एकातिर नयाँ नेतृत्वले वैधानिकता पाएको दाबी गरिरहेको छ भने अर्कोतिर पुरानो संस्थापन पक्षले यसलाई कानुनी र राजनीतिक कू को संज्ञा दिँदै आएको छ ।

आजको सुनुवाइमा इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयले नेपाली राजनीति र कांग्रेसको आगामी चुनावी तयारीमा समेत गहिरो प्रभाव पार्ने निश्चित छ।


सम्बन्धित समाचार