७ माघ,वीरगञ्ज । यही फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि मधेस प्रदेशमा एक हजारभन्दा बढी उम्मेदवारी परेको छ।
मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशका ८ वटै जिल्लाबाट कुल १ हजार ४२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। यो संख्या आवश्यक सिटभन्दा करिब ३२ गुणा बढी हो।
निर्वाचन कार्यालयका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १०१ जना महिला र ९४१ जना पुरुष उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन्।
कुन जिल्लाबाट कति उम्मेदवारी?
निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार सबैभन्दा बढी उम्मेदवारी धनुषा जिल्लाबाट परेको छ। धनुषाबाट १३ जना महिला र १४५ जना पुरुष गरी १५८ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
त्यसपछि महोत्तरी र रौतहटबाट समान १४३–१४३ जना उम्मेदवार छन्। महोत्तरीबाट १८ महिला र १२५ पुरुष, रौतहटबाट ११ महिला र १३२ पुरुष उम्मेदवार छन्।
सिरहाबाट ८ महिला र १३१ पुरुष गरी १३९ जना, सर्लाहीबाट ६ महिला र १२७ पुरुष गरी १३३ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
त्यसैगरी पर्सा जिल्लाबाट १०९ जना उम्मेदवारमध्ये १२ जना महिला रहेका छन्। बाराबाट १५ महिला र ९७ पुरुष गरी ११२ जना उम्मेदवारले उम्मेदवारी दिएका छन्।
सबैभन्दा कम उम्मेदवारी सप्तरी जिल्लाबाट परेको छ। निर्वाचन कार्यालयका अनुसार सप्तरीबाट १८ महिला र ८७ पुरुष गरी १०५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
















