१८ माघ, काठमाडौं । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल आज जापानको चारदिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्दै छन् । जापान सरकारको औपचारिक निमन्त्रणामा हुन लागेको यस भ्रमणलाई दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्ने कार्यक्रम छ । उनको भ्रमण माघ १८ देखि २१ गतेसम्म रहनेछ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने तय भएको छ । सोही दिन राष्ट्रपति पौडेल र जापानका प्रधानमन्त्री ताकाइची सानेबीच द्विपक्षीय भेटवार्ता हुने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ।
यसअघि माघ १९ गते राष्ट्रपति पौडेल नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको अवसरमा जापान सरकारका तर्फबाट आयोजना गरिने विशेष समारोहमा सहभागी हुनेछन्। सो समारोह जापानका विदेश राज्यमन्त्री होरी इवाओको उपस्थितिमा हुने बताइएको छ। त्यही दिन विदेश राज्यमन्त्री इवाओले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय छ ।
भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जापानी व्यापारिक समुदायसँग भेटघाट गर्नेछन् भने टोकियोस्थित नेपाली दूतावासले आयोजना गर्ने सम्मान कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति पौडेलसँग जापान भ्रमणमा उनकी धर्मपत्नी सविता पौडेल, उच्चपदस्थ सरकारी अधिकारीहरू तथा प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी हुनेछन्। राष्ट्रपति पौडेल माघ २१ गते स्वदेश फर्कने कार्यक्रम छ ।
यस भ्रमणले नेपाल-जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र राजनीतिक, आर्थिक तथा सांस्कृतिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।
















