Logo

१८ माघ, काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिना लामो कठिन ‘श्री स्वस्थानी व्रत’ आज माघ शुक्ल पूर्णिमाका दिन विधिपूर्वक समापन गरिँदैछ। भगवान् शिव र पार्वतीको आराधना गर्दै घरघरमा पढिने स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्य (स्वस्थानी कथा) को पनि आजै अन्तिम अध्याय वाचन गरिँदैछ।

स्वस्थानी व्रतको समापनका क्रममा आज १०८ को विशेष महत्त्व रहन्छ। बर्तालुहरूले आज १०८ जनै, सुपारी, पान, फूल, रोटी र अक्षताका साथै विभिन्न फलफूल र नैवेद्य भगवतीलाई अर्पण गरी कामना सिद्धिको प्रार्थना गर्छन्। “चढाइएका प्रसादमध्ये आठ-आठ वटा पति, छोरा वा मित छोरालाई दिने र बाँकी सामग्री पवित्र नदीमा सेलाउने शास्त्रीय विधान रहेको छ,” धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई बताउँछन्। आजको रात भक्तजनहरू फलाहार गरी जाग्राम बस्नेछन् र भोलि बिहीबार बिहान फूलपाती विसर्जन गरेपछि यस वर्षको व्रतको औपचारिक अन्त्य हुनेछ ।

‘स्वस्थानी’ अर्थात् आफ्नो स्थानकी देवी (आत्मामा सम्पर्क गर्ने शक्ति) को पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। सुवर्ण वर्णकी, चार हातमा नीलकमल, खड्ग, ढाल र वरदमुद्रा लिएकी देवीको आराधना गर्दा रोगव्याध निको हुने र बिछोडिएका जोडीको पुनर्मिलन हुने धार्मिक मान्यता छ। कथामा उल्लेख भएअनुसार पार्वतीले महादेवलाई पतिका रूपमा पाउन र गोमा ब्राह्मणीले पुत्र वियोगबाट मुक्ति पाउन यही व्रत गरेको प्रसंगले यसको महिमा अझ बढाएको छ ।

काठमाडौंको साँखुस्थित ऐतिहासिक शालिनदीमा गत एक महिनादेखि माधवनारायणको कठोर व्रत गरिरहेका करिब १६२ महिला र १५ पुरुषले आज अश्वमेध यज्ञ गरी व्रत समापन गर्दैछन्। स्थानीय इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’का अनुसार साँखु क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्व यस व्रतसँग अभिन्न रूपमा जोडिएको छ। नेवार समुदायले आजको दिनलाई ‘सि पुन्हि’का रूपमा मनाउँदै विशेष पूजाआजा गर्ने परम्परा छ।

आज मध्याह्नपछि सुरु हुने विशेष पूजा र रात्रिकालीन जाग्रामसँगै मुलुकभरका शिवालय तथा पवित्र जलाशयहरूमा भक्तजनको बाक्लो उपस्थिति रहेको छ।


सम्बन्धित समाचार