Logo

१८ माघ, बारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बारा क्षेत्र नम्बर-३ राजनीतिक रूपमा सबैभन्दा चासोको केन्द्र बनेको छ । मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले पूर्वमन्त्रीलाई उम्मेदवार बनाए पनि यो निर्वाचनको निर्णायक पक्ष दलहरूभित्रकै अन्तरकलह बनेको छ ।

कांग्रेसबाट ७१ वर्षीय ज्येष्ठ नेता फरमुल्लाह मन्सुर र एमालेबाट निवर्तमान संघीय सांसद ज्वालाकुमारी साह मैदानमा छन् । दुवै केन्द्रीय नेतृत्वमा पहुँच राख्ने प्रभावशाली पात्र भए पनि जिल्ला तहमा आफ्नै पार्टीभित्र चर्को असन्तुष्टि खेपिरहेका छन् ।

कांग्रेसभित्र २०४८ सालदेखि निरन्तर टिकट पाउँदै आएका मन्सुर यसपटक पनि अन्तिम समयमा उम्मेदवार बनेपछि संस्थापन पक्षका देउवा समूह असन्तुष्ट बनेको छ। जिल्ला सभापति राजेश राय यादवसहितको समूह चुनावी अभियानमा सक्रिय देखिएको छैन । मनोनयन दर्तादेखि माघ १५ गतेसम्म भएको घरदैलो अभियानमा गगन थापा पक्षका नेताकार्यकर्ता सहभागी नदेखिनु कांग्रेसभित्रको दूरीको स्पष्ट संकेत मानिएको छ ।

उता एमालेभित्रको अवस्था झनै जटिल छ । क्षेत्रीय भेलाले जिल्ला अध्यक्ष अध्ययानन्द पाण्डेलाई उम्मेदवार सिफारिस गरे पनि माथिबाट टिकट लिएर ज्वालाकुमारी साह मैदानमा उत्रिएपछि जिल्लास्तरमा असन्तोष चुलिएको छ । एमाले प्रदेश कमिटी सदस्य किशोर शर्माका अनुसार “माथिबाट टिकट ल्याएर मात्रै चुनाव जितिँदैन, जनाधार पनि चाहिन्छ।”

मनोनयनअघि साहलाई राष्ट्रिय सभामा पठाउने र क्षेत्र नं ३ मा नयाँ उम्मेदवार अघि सार्ने आन्तरिक तयारी भए पनि साहले क्षेत्र नछोड्ने अडान लिएपछि विवाद चर्किएको एमाले नेताहरू बताउँछन् । यद्यपि साह भने पार्टीभित्र देखाइएजस्तो अन्तरकलह नरहेको दाबी गर्दै चुनावलाई ‘सत्य र असत्यको लडाइँ’का रूपमा चित्रण गर्छिन् ।

बारा-३ मा ३८ वडा पर्छन्, जहाँ एमालेको साङ्गठानिक पकड बलियो देखिन्छ । दुई प्रदेशसभा सदस्य र कलैया उपमहानगर प्रमुख एमालेकै भए पनि आन्तरिक असन्तुलनका कारण स्थानीय नेतृत्व खुला रूपमा चुनावी अभियानमा देखिएको छैन ।

यसैबीच जनता समाजवादी पार्टीबाट पूर्वसंघीय सांसद रामबाबु प्रसाद यादव बलियो प्रतिस्पर्धीका रूपमा उदाएका छन् । पार्टी फुटको मार खेपे पनि विकासका कामका कारण यादवप्रति जनस्तरमा सकारात्मक धारणा देखिन्छ। टाँगियाबस्तीमा विद्युतीकरण र बर्डहर्वा पुल सञ्चालन जस्ता कामले उनलाई उत्तरदेखि दक्षिणसम्म प्रभावशाली बनाएको मतदाताहरू बताउँछन् ।

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेपछि दोस्रो मत ल्याएको जसपाले यसपटक पनि निर्णायक भूमिका खेल्न सक्ने विश्लेषण भइरहेको छ । कतिपय स्थानीय मतदाताहरू बारा-३ मा एमाले र जसपाको करिब ४०/४० प्रतिशत मत रहेको र बाँकी २० प्रतिशत मत जसले तान्न सक्यो, उसैले जित्ने आँकलन गर्छन् ।

नयाँ शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अरबिन्द साह र नेकपाबाट शिक्षक पेसाबाट अवकाश पाएका भरत साह पनि मैदानमा छन् । ‘पुराना अनुहार भर्सेस नयाँ विकल्प’को बहस चर्किँदै गर्दा रास्वपाले विशेष गरी शहरी तथा युवा मत काट्ने अनुमान गरिएको छ ।

१ लाख १३ हजार ५२१ मतदाता रहेको बारा-३ मा अघिल्लो निर्वाचनमा करिब ७० प्रतिशत मतदान भएको थियो । यसपटक प्रतिस्पर्धा झनै कडा हुने देखिएको छ।

उम्मेदवारभन्दा बढी दलभित्रकै असन्तोष, पुराना अनुहारप्रति मतदाताको मूल्याङ्कन र तेस्रो शक्तिको प्रभाव, यी सबै कारणले बारा-३ को निर्वाचन केवल सीटको लडाइँ मात्र नभई दलहरूको संगठनात्मक शक्ति र जनविश्वासको परीक्षा बनेको छ ।

अब प्रश्न, आन्तरिक कलहलाई जितेर मतदाताको भरोसा कसले जित्ला ? बारा-३ ले यसको उत्तर फागुन २१ गतेको परिणामले दिनेछ।


सम्बन्धित समाचार