१९ माघ,वीरगञ्ज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्साले प्रेस सेन्टर नेपाल पर्सा र समाजवादी प्रेस संगठन पर्साका पदाधिकारी एवं पत्रकारहरूसँग निर्वाचन विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कुमु प्यालेस होटलमा आयोजना गरिएको उक्त कार्यक्रममा पर्साका चारवटै निर्वाचन क्षेत्रका पार्टी उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
अन्तक्रिया कार्यक्रममा पार्टीका नेता तथा उम्मेदवारहरूले निर्वाचनसँग सम्बन्धित पार्टीको एजेण्डा, उम्मेदवारहरूको भूमिका तथा प्रचार–प्रसारका गतिविधिहरूलाई सञ्चार माध्यममार्फत जनतासम्म पुर्याउन पत्रकारहरूसँग आग्रह गरेका थिए। साथै, पर्साका चारवटै निर्वाचन क्षेत्रमा पार्टी उम्मेदवारको जित सुनिश्चित गर्न प्रचार–प्रसारलाई थप मजबुत र प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा बोल्दै पर्सा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अजय चौरसिया, क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरी, क्षेत्र नं. ३ का उम्मेदवार छोटेलाल यादव तथा क्षेत्र नं. ४ का उम्मेदवार जयप्रकाश थारुले आ–आफ्नो निर्वाचन क्षेत्रको वर्तमान अवस्थाबारे पत्रकारहरूलाई जानकारी गराएका थिए।
उम्मेदवारहरूले आ–आफ्नो क्षेत्रमा पार्टीको बलियो पकड रहेको र पार्टीका संगठनहरू एकजुट भएर काम गर्न सके निर्वाचन जित्ने आधार बलियो रहेको दाबी गरेका थिए। अन्तक्रिया कार्यक्रममा उम्मेदवारहरूबीच परिचयात्मक कार्यक्रम समेत गरिएको थियो।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका नेता विजय महतो, बालगोपाल थापा, रामचन्द्र साह, बृजलाल पासवान तथा प्रेस सेन्टर नेपाल मधेश प्रदेश अध्यक्ष निरज पिठाकोटे, पर्सा जिल्ला अध्यक्ष शिवनाथ यादव, समाजवादी प्रेस संगठन मधेश प्रदेश अध्यक्ष मनोज पटेल, पर्सा जिल्ला अध्यक्ष शम्भु सुमनलगायतको उपस्थिति रहेको थियो।

















