२० माघ, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नं. ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)सँग दोस्रो पटक स्पष्टीकरण माग गरेको छ। आयोगले शाहको निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित श्रव्यदृश्य सामग्री प्राप्त भएपछि पुनः स्पष्टीकरण सोधिएको जनाएको छ ।
आयोगका अनुसार सार्वजनिक भएको उक्त सामग्रीमा सादा पोसाकमा रहेका प्रहरी कर्मचारी शाहको पक्षमा भोट मागिरहेको देखिएको उजुरी परेपछि यस विषयमा गम्भीर चासो लिइएको हो। आयोगले सोमबार जारी गरेको विज्ञप्तिमा निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि प्रश्न उठ्ने कुनै पनि गतिविधिलाई हल्का रूपमा नलिइने स्पष्ट पारेको छ ।
निर्वाचन प्रचारका क्रममा उम्मेदवार शाहकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा पनि आयोगले ध्यानाकर्षण भएको जनाएको छ । सो घटनाबारे के कसो भएको हो भन्ने स्पष्ट विवरण पेश गर्न आयोगले शाहलाई तीन दिनको समयसीमा तोकेर लिखित स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ विपरीत उम्मेदवार स्वयं वा उनका तर्फबाट संलग्न व्यक्ति कुनै गतिविधिमा संलग्न भएको पुष्टि भएमा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ ।
यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा गरिएको टिप्पणीको विषयलाई लिएर आयोगले बालेनसँग स्पष्टीकरण सोधिसकेको थियो। पटक–पटक उठिरहेका यस्ता विवादले निर्वाचन अभियानमा आचारसंहिताको पालना र राज्य संयन्त्रको दुरुपयोगबारे बहसलाई थप चर्काएको छ ।
निर्वाचन नजिकिँदै जाँदा आयोगले सबै उम्मेदवारलाई कानुनको दायराभित्र रहेर प्रचारप्रसार गर्न सचेत गराउँदै आएको छ ।
















