२० माघ, काठमाडौं । सरकारले गत भदौमा भएको ‘जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारका लागि झन्डै १२ करोड रुपैयाँ बराबरको आर्थिक प्याकेज अगाडि बढाएको छ ।
जेनजी शहीद परिवार कल्याणकारी समाजु मार्फत वितरण गर्ने गरी सरकारले कुल ११ करोड ९० लाख २८ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने तयारी गरेको हो । पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई कार्यान्वयन गर्न गृह मन्त्रालयले कार्यक्रमको विस्तृत खाकासहितको प्रस्ताव सोमबार अर्थ मन्त्रालयमा पेस गरेको छ ।
शहीद परिवारले सुरुमा कर्मचारीको तलब सरह जीवन निर्वाह भत्ता पाउनुपर्ने माग राख्दै आएका थिए । सोही मागलाई सम्बोधन गर्ने गरी सरकारले १० वर्षसम्म निरन्तर आर्थिक सहायता उपलब्ध गराउने मोडालिटी तयार गरेको हो । जसअनुसार अब प्रत्येक शहीद परिवारले मासिक २१ हजार ८ सय रुपैयाँका दरले भत्ता प्राप्त गर्नेछन् । यो सुविधा वर्षमा १३ महिना (चाडबाड भत्तासहित) उपलब्ध गराइनेछ, जसले गर्दा परिवारलाई दीर्घकालीन रूपमा जीविकोपार्जनमा टेवा पुग्ने सरकारको विश्वास छ ।
भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा ज्यान गुमाएका ७६ जनामध्ये सरकारले हालसम्म ४२ जनालाई शहीद घोषणा गरिसकेको छ । तिनै ४२ परिवारलाई लक्षित गरी अहिलेको झन्डै १२ करोडको अनुदान रकम प्रस्तावित गरिएको हो । अर्थ मन्त्रालयका अनुसार यो रकम प्रचलित कानुन र मन्त्रिपरिषद्को पछिल्लो निर्णय बमोजिम निकासाको प्रक्रियामा रहेको छ ।
















