२० माघ, काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताहरूको सहजतालाई ध्यानमा राख्दै मतदान प्रक्रियामा विशेष लचकता अपनाउने भएको छ ।
आयोगले मतदाता नामावलीमा नाम दर्ता भएका तर कुनै कारणवश मतदाता परिचयपत्र नभएका नागरिकहरूका लागि ६ प्रकारका वैकल्पिक सरकारी कागजातमध्ये कुनै एक देखाएर मतदान गर्न पाउने व्यवस्था गरेको हो । आयोगद्वारा सञ्चालित कल सेन्टरमा प्राप्त जिज्ञासाहरूको सम्बोधन गर्दै यो जानकारी सार्वजनिक गरिएको हो ।
आयोगका अनुसार मतदानका लागि मतदाता नामावलीमा नाम हुनु अनिवार्य सर्त हो। यदि नाम सूचीमा छ तर मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा साथमा नभएको अवस्था छ भने नागरिकहरूले आफ्नो पहिचान खुल्ने आधिकारिक प्रमाण बोकेर मतदान केन्द्र जान सक्नेछन्। यसरी मतदान गर्न पाइने कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी (पासपोर्ट), सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) र जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) रहेका छन् । यीमध्ये कुनै पनि एक सक्कल कागजात साथमा भएमा मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नबाट बञ्चित हुनुपर्ने छैन ।
निर्वाचनको मिति नजिकिँदै गर्दा आयोगले मतदाताका अन्य अन्योलहरू चिर्न कल सेन्टरमार्फत निरन्तर संवाद गरिरहेको छ । सामान्यतया मतदानका लागि आयोगले जारी गरेको परिचयपत्र नै प्राथमिकतामा रहे पनि प्राविधिक वा व्यावहारिक कठिनाइका कारण परिचयपत्र नहुनेहरूका लागि यो वैकल्पिक व्यवस्थाले मतदानको सहभागिता बढाउने विश्वास लिइएको छ । फागुन २१ को मतदानलाई लक्षित गरी आयोगले अहिले देशभरि आफ्नो तयारीलाई तीव्र बनाएको छ ।
















