२० माघ,वीरगञ्ज । कहिलेकाहीँ चर्चित व्यक्तिसँग नाम मेल खाँदा त्यो आफैंमा चर्चाको विषय बन्ने गर्छ। यतिबेला नेपालमा निर्वाचनको माहोल चलिरहँदा पर्सा निर्वाचन क्षेत्र नम्बर २ का एक जना उम्मेदवार नामकै कारण चर्चामा आएका छन्।
पर्सा–२ बाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार अमिताभ बच्चन दास तत्मा आफ्नो नाम बलिउड महानायक अमिताभ बच्चनसँग मिल्दो भएकै कारण आम चासोको विषय बनेका हुन्।
जन्मेदेखि नै यही नाम भए पनि यसअघि यो उनको परिवार, छिमेकी, साथीभाइ र आफन्तमाझ मात्रै सीमित थियो। तर निर्वाचनमा उम्मेदवार बनेसँगै उनको नाम निर्वाचन आयोगको आधिकारिक रेकर्डमा दर्ता भयो। आयोगको वेबसाइटमा प्रकाशित भएपछि मिडिया कभरेजमार्फत उनको नाम देशभर फैलिन थाल्यो।
उम्मेदवार बनेपछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनको नाम उल्लेख हुन थालेसँगै पर्साबाहिर समेत उनको चर्चा बढेको छ। बलिउड महानायकसँग नाम मिलेको संयोगले धेरैको ध्यान तानेको स्थानीयहरू बताउँछन्।
नामकै कारण चर्चामा आए पनि उम्मेदवार दासले चुनावी मुद्दा, एजेन्डा र जनसम्पर्कलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको बताएका छन्।
















