Logo

२० माघ, काठमाडौँ । पछिल्लो दुई सातादेखि बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना भएको हल्लापछि आम उपभोक्ता खाली सिलिण्डर बोकेर लाइन बस्न थालेका छन् ।

विशेष गरी नेपाल ग्यासको आपूर्तिमा अवरोध देखिएको हल्लाका कारण बिहानैदेखि रित्तो सिलिन्डर बोकेर उपभोक्ताहरू बालाजु औद्योगिक क्षेत्रस्थित नेपाल ग्यासको मुख्य कार्यालयमा लाइन बस्न बाध्य भएका हुन् । भारतबाट हुनुपर्ने नियमित ढुवानीमा समस्या आएको र बजारमा अभाव हुने हल्लाले गर्दा उपभोक्ताले आवश्यकताभन्दा बढी सञ्चय (होर्डिङ) गर्न थालेपछि स्थिति झनै तनावपूर्ण बनेको छ ।

नेपाल आयल निगमले भने बजारमा ग्यासको अभाव नभएको दाबी गर्दै जाडोयामको मागलाई सम्बोधन गर्न विगत तीन महिनादेखि निरन्तर आपूर्ति भइरहेको तथ्याङ्क सार्वजनिक गरेको छ । निगमका अनुसार नोभेम्बरमा ४७ हजार मेट्रिक टनभन्दा बढी ग्यास आयात भएकोमा डिसेम्बर र जनवरीमा पनि सोही अनुपातमा वितरण भइसकेको छ । अहिलेको समस्या केही सीमित उद्योगका सिलिन्डरमा मात्र देखिएको भन्दै निगमले आसन्न निर्वाचनलाई समेत मध्यनजर गरी थप २ हजार मेट्रिक टन ग्यास आयात गर्न अनुमति दिइसकेको स्पष्ट पारेको छ ।

उपभोक्ताले ग्यास नपाएको गुनासो गरिरहँदा नेपाल ग्यास कम्पनीले भने ढुवानीमा प्राविधिक समस्या आएकाले आपूर्ति सहज बनाउन समय लागिरहेको स्वीकार गरेको छ । निगमले सर्वसाधारणलाई ग्यासको अनावश्यक भण्डारण नगर्न र हल्लाको पछि नलाग्न आग्रह गरे तापनि बालाजुको कार्यालयमा दिउँसो २ बजेसम्म मात्र ग्यास वितरण हुने हुँदा सयौँ उपभोक्ता रित्तो हात घर फर्किनु परिरहेको छ । आपूर्ति र मागबीचको यो असन्तुलनले जाडोको समयमा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ ।


सम्बन्धित समाचार