Logo

२० माघ, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशैभरको मतदान स्थल, केन्द्र र मतदाताको अन्तिम तथ्याङ्क सार्वजनिक गरेको छ ।

आयोगका अनुसार यसपटकको निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन् । जसमा २०८२ फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकहरूलाई मतदानको अधिकार सुरक्षित गरिएको छ । सार्वजनिक विवरण अनुसार रामेछाप जिल्ला देशकै सबैभन्दा धेरै मतदाता भएको निर्वाचन क्षेत्र बनेको छ, जहाँ कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता सूचीकृत छन् ।

मतदाता संख्याको हिसाबले रामेछापपछि अर्घाखाँची र दोलखा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् । अर्घाखाँचीमा १ लाख ७१ हजार ६ सय ५२ र दोलखामा १ लाख ७० हजार ३ सय २१ मतदाता रहेका छन्। त्यस्तै, बर्दिया निर्वाचन क्षेत्र नम्बर १ र काभ्रेपलाञ्चोक क्षेत्र नम्बर २ पनि धेरै मतदाता हुने शीर्ष पाँचको सूचीमा अटाएका छन् । यी क्षेत्रहरूमा क्रमशः १ लाख ६८ हजार र १ लाख ६५ हजारको हाराहारीमा मतदाता रहेका छन्, जसले गर्दा यी क्षेत्रको चुनावी प्रतिस्पर्धा निकै रोचक र चुनौतीपूर्ण हुने देखिएको छ ।

अर्कोतर्फ, हिमाली जिल्ला मनाङ देशकै सबैभन्दा कम मतदाता भएको क्षेत्र बनेको छ, जहाँ मात्र ७ हजार मतदाता रहेका छन् । मनाङपछि मुस्ताङमा ११ हजार ३ सय २८ र डोल्पामा २४ हजार १ सय १५ मतदाता रहेका छन्। त्यस्तै, हुम्ला र पूर्वी रुकुम पनि कम मतदाता हुने जिल्लाहरूको सूचीमा परेका छन् । निर्वाचन सम्पन्न गर्नका लागि आयोगले देशभर १० हजार ९ सय ६७ मतदान स्थल र २३ हजार १ सय १२ मतदान केन्द्रहरू तोकेको छ । मतदाताहरूको यो असमान वितरणले भूगोल र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको प्रतिनिधित्वको बहसलाई पुनः सतहमा ल्याइदिएको छ ।


सम्बन्धित समाचार