२० माघ, महोत्तरी । महोत्तरी जिल्लाको औरही नगरपालिका–१ मा उखु खेतमा आगलागी हुँदा ६ बिघाभन्दा बढी क्षेत्रफलको उखु पूर्ण रूपमा नष्ट भएको छ।
प्रहरीका अनुसार स्थानीय १० जना कृषकको स्वामित्वमा रहेको कुल ६ बिघा ७ कठ्ठा उखु खेतमा आगलागी भएको हो। आगलागीबाट रामवृक्ष राय, नगिनादेवी यादव, रासदेवी यादव, हरिनारायण यादवलगायतका कृषक प्रभावित भएका छन्।
एभरेष्ट सुगर एण्ड केमिकल इन्डस्ट्रिज गौशालाका जेटिए अमिरी महतोले आगलागीका कारण करिब १४ लाख रुपैयाँ बराबरको उखु जलेर नष्ट भएको जानकारी दिए। उनका अनुसार आगलागी भएको उखु २४ घण्टाभित्र क्रसिङ गर्न सकेमा दुई प्रतिशत मात्र कट्टा हुने भए पनि ढिलाइ भएमा ल्याब परीक्षणका आधारमा कट्टा गरिनेछ।
सम्सी, रामगोपालपुर, जलेश्वर र बर्दिबास नगरपालिकाबाट आएका दमकल (वारुण यन्त्र) तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पीडित कृषक हरिनारायण यादवका अनुसार आगलागी भएको उखु काट्ने तयारीमै रहेको अवस्थामा आगो लागेको हो।
















