२१ माघ, काठमाडौं । आसन्न निर्वाचनको सरगर्मी बढ्दै जाँदा झापा निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेस र नेकपा (एमाले) बीच चुनावी तालमेल हुन लागेको भनी फैलाइएको हल्लाको कांग्रेसले आधिकारिक रूपमा खण्डन गरेको छ ।
कांग्रेस क्षेत्रीय कार्यसमिति झापा–५ का सभापति ढुण्डिराज भण्डारीले एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत केही गलत मनशाय भएका व्यक्तिहरूले मतदातालाई अल्मल्याउन कपोकल्पित र भ्रामक सूचना सम्प्रेषण गरिरहेको स्पष्ट पारेका छन् । झापा–५ मा कांग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको र पार्टी आफ्नै चुनाव चिन्ह रुखमा मतदान गराउन दृढ रहेको विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले केन्द्रीय सभापति गगनकुमार थापाको अघिल्लो प्रतिबद्धतालाई स्मरण गराउँदै निर्वाचन पूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने नीतिमा पार्टी अडिग रहेको जनाएको छ । सभापति भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको केन्द्रीय नीति विपरीत कुनै पनि अर्को दलसँग तालमेल हुने सम्भावना छैन, त्यसैले कार्यकर्ता र शुभचिन्तकहरूलाई यस्ता प्रायोजित अफवाहको पछि नलाग्न हार्दिक अनुरोध गर्दछौँ ’ पार्टीले आफ्ना मतदातालाई कुनै पनि भ्रममा नपरी आफ्नै उम्मेदवारको पक्षमा चुनावी माहोल बनाउन र रुख चिन्हमै मतदान गर्न अपिल गरेको छ।
हेभिवेट उम्मेदवारहरूको प्रतिस्पर्धाका कारण चर्चामा रहेको झापा–५ मा यसपटक बहुपक्षीय भिडन्त हुने देखिएको छ । यहाँ एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र नेकपाका रञ्जित तामाङ चुनावी मैदानमा उत्रिएका छन् । यस्तो कडा प्रतिस्पर्धाका बीच कांग्रेसले एक्लै चुनाव लड्ने उद्घोष गरेसँगै यहाँको राजनीतिक समीकरण थप रोचक बनेको छ ।
भ्रम फैलाउनेहरूले चुनावी वातावरण बिगार्न खोजेको दाबी गर्दै कांग्रेसले आफ्ना संयन्त्रहरूलाई गाउँ–गाउँसम्म पुगेर स्पष्टीकरण दिन निर्देशन समेत दिएको छ ।
















