Logo

२१ माघ, काठमाडौं । लिबियाका पूर्व शक्तिशाली नेता मुअम्मर गद्दाफीका उत्तराधिकारी मानिएका छोरा सैफ अल–इस्लाम गद्दाफीको मंगलबार पश्चिमी लिबियाको जिन्तान सहरमा विभत्स हत्या भएको छ ।

आफ्नै निवासमा बसिरहेका बेला मुखुण्डो लगाएका चार जना हतियारधारी समूहले घरभित्रै घुसेर उनलाई गोली हानेका हुन्। आक्रमणकारीहरूले घटनाको प्रमाण मेटाउन सुरुमा घरका सबै सीसीटीभी क्यामेराहरू नष्ट गरेको र त्यसलगत्तै उनीमाथि अन्धाधुन्ध प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । लामो समयको जेल जीवन र राजनीतिक वनवासपछि सक्रिय राजनीतिमा फर्कने तयारी गरिरहेका सैफको यो अन्त्यलाई लिबियाको राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

यस घटनालाई सैफको राजनीतिक टिमले कायरतापूर्ण र विश्वासघाती हत्याको संज्ञा दिँदै घोर भर्त्सना गरेको छ । टोलीका सदस्य अब्दुल्लाह ओथमान अब्दुर्रहीमले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै लिबियाको न्यायपालिका र अन्तर्राष्ट्रिय समुदायलाई यस हत्याको गम्भीर र निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।  यद्यपि, जिन्तान र राजधानी त्रिपोलीका स्थानीय अधिकारीहरूले यसबारे आधिकारिक वक्तव्य जारी गर्न बाँकी रहे तापनि विश्वका प्रमुख समाचार एजेन्सीहरूले सैफको हत्या भएको खबरलाई प्राथमिकताका साथ प्रसारण गरिरहेका छन् ।

सन् २०११ मा नाटो समर्थित विद्रोहका क्रममा पिता मुअम्मर गद्दाफीको हत्या भएपछि सैफलाई गद्दाफी शासनको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको थियो। विद्रोहपछि पक्राउ परेका उनले लामो समय जिन्तानको जेलमा बिताएका थिए र सन् २०१७ मा मात्र रिहा भएका थिए । सन् २०२१ मा राष्ट्रपतीय निर्वाचन लड्ने प्रयास गरे पनि कानुनी र राजनीतिक विवादका कारण उनको यात्रा रोकिएको थियो। वर्षौँदेखि गुमनाम जस्तै रहेका र लिबियाको राजनीतिमा पुनः उदय हुने अपेक्षा गरिएका सैफको यो आकस्मिक हत्याले लिबियामा फेरि अस्थिरता र हिंसा बढ्न सक्ने खतरा औंल्याइएको छ ।


सम्बन्धित समाचार