Logo

२१ माघ, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई राजनीतिक रूपमा समाप्त पार्न देशी-विदेशी शक्तिहरूले विभिन्न खाले षड्यन्त्र बुनिरहेको आरोप लगाएका छन् ।

काठमाडौं उपत्यकाका १५ जना उम्मेदवारहरूसँगको विशेष संवादका क्रममा नेता पोखरेलले एमालेविरुद्ध देशभित्र र बाहिरबाट घेराबन्दी भइरहेको भन्दै कार्यकर्ताहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् । बाह्य शक्तिहरू जतिसुकै सक्रिय भए पनि पार्टीभित्रको आन्तरिक जग बलियो भएमा कसैले पनि हल्लाउन नसक्ने उनको जिकिर छ ।

पार्टीभित्रको एकता र सुदृढीकरणलाई मुख्य प्राथमिकतामा राख्दै नेता पोखरेलले आन्तरिक रूपमा कमजोर भए मात्र बाह्य षड्यन्त्र हावी हुने यथार्थलाई एमालेले बुझेको बताए । ‘हामी बाह्य चुनौतीलाई चिर्नका लागि आफैँभित्र बजबूत हुन चाहन्छौँ,’ उनले भने, ‘पार्टीलाई भित्रैदेखि सुदृढ बनाएर सबै प्रकारका षड्यन्त्रलाई असफल पारिनेछ।’ विगतका कमी–कमजोरीहरूको गहन आत्मसमीक्षा गरेर यस पटक पार्टी पूर्ण तयारीका साथ चुनावी मैदानमा उत्रिएको उनले स्पष्ट पारे ।

आगामी निर्वाचनमा काठमाडौं उपत्यकाको नतिजा एमालेको पक्षमा आउनेमा ढुक्क रहेका पोखरेलले यसपटक पार्टीले नयाँ र फरक शैलीको घोषणापत्र ल्याउन लागेको समेत जानकारी दिए । जनताका वास्तविक आवश्यकता र विकासका योजनालाई समेटेर तयार पारिने घोषणापत्रले आम मतदातालाई आकर्षित गर्ने उनको विश्वास छ ।

षड्यन्त्रका पर्खालहरू भत्काउँदै एमाले फेरि पनि मुलुकको प्रमुख शक्तिको रूपमा स्थापित हुने दाबी गर्दै उनले उम्मेदवारहरूलाई उच्च मनोबलका साथ जनताको घरदैलोमा पुग्न निर्देशन दिएका छन् ।


सम्बन्धित समाचार