Logo

२१ माघ, काठमाडौं । काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मतदाताले भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार नभएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

एमालेको केन्द्रीय निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति नजिकिँदै जाँदा समेत सरकारले सुरक्षाको भरपर्दो प्रत्याभूति दिन नसकेको आरोप लगाएका हुन् । प्रत्येक नागरिकले सुरक्षित रूपमा मतपेटिकासम्म पुगेर आफ्नो मताधिकार प्रयोग गर्न पाउनु संवैधानिक अधिकार भए पनि सरकार त्यसतर्फ उदासीन देखिएको एमालेको ठहर छ ।

एमालेले हालैका जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीबन्दी र लुटिएका हातहतियारका कारण मुलुकमा सुरक्षा चुनौती थपिएको विश्लेषण गरेको छ । काठमाडौँ लगायत देशका विभिन्न भागमा दिनदहाडै भइरहेका लुटपाटका घटनाले शान्ति–सुरक्षाको कमजोर अवस्थालाई चित्रण गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तो संवेदनशील समयमा सरकारले मतदाताको मनोबल उच्च बनाउनुको साटो सुरक्षा संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्न नसकेको भन्दै एमालेले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएको छ ।

साथै, एमालेले निर्वाचन आचारसंहिताको पालना र प्रभावकारितामाथि पनि संशय व्यक्त गरेको छ । राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सामाजिक सद्भावमा खलल पुर्‍याउने अवाञ्छित गतिविधिहरू बढिरहेको भन्दै एमालेले समुदायलाई उत्तेजित बनाउने भड्काउपूर्ण व्यवहार र प्रचार शैलीप्रति कडा निगरानी राख्न माग गरेको छ । स्थापित कानुनी मापदण्ड अनुसार त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन र शान्तिपूर्ण निर्वाचनको सुनिश्चितता गर्न एमालेले सम्बन्धित पक्षसँग विनम्रतापूर्वक आग्रह गरेको छ ।


सम्बन्धित समाचार