Logo

२१ काठमाडौं । निर्वाचनको स्वच्छ माहोललाई प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले धमिल्याउन सक्ने भन्दै निर्वाचन आयोगले डिजिटल माध्यममा कडा निगरानी बढाउने भएको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना र भ्रमले समग्र निर्वाचन प्रक्रियालाई नै बिथोल्न सक्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका हुन् । आयोग पुगेको टिकटकका प्रतिनिधिहरूसँगको विशेष भेटमा भण्डारीले प्रविधिको नकारात्मक प्रयोगलाई रोक्न सबै सरोकारवाला पक्षहरू उच्च सतर्क रहनुपर्नेमा जोड दिए ।

आगामी निर्वाचनलाई लक्षित गरी टिकटकले निःशुल्क रूपमा निर्वाचन शिक्षा र आचारसंहिता पालनामा सहयोग गर्ने प्रतिबद्धता जनाएपछि आयोगले यसलाई सकारात्मक रूपमा लिएको छ। कार्यवाहक प्रमुख आयुक्त भण्डारीले टिकटकको यो पहललाई ‘पवित्र सोच’ को संज्ञा दिँदै विश्वको ध्यान नेपालको निर्वाचनमा खिचिएका बेला यस्तो सहकार्यले ठूलो महत्त्व राख्ने बताए । निर्वाचनको संग्लिएको माहोललाई धमिल्याउने प्रयास धेरैतिरबाट हुन सक्ने भन्दै उनले प्रविधि कम्पनीहरूसँगको समन्वयमा भ्रामक सामग्रीहरूलाई तत्काल नियन्त्रण गरिने स्पष्ट पारे ।

विश्वव्यापी रूपमै सामाजिक सञ्जालले जनमतलाई गलत ढंगले प्रभावित पार्ने जोखिम बढिरहेका बेला नेपालको निर्वाचन आयोगले यसपटक प्रविधिको सकारात्मक प्रयोगलाई प्रोत्साहन गर्ने रणनीति लिएको छ । गलत सूचना, अफवाह र आचारसंहिता विपरीतका क्रियाकलाप नियन्त्रण गर्न आयोगले टिकटक जस्ता ठूला प्लेटफर्महरूसँग मिलेर एक संयन्त्र तयार पार्नेछ ।

प्रविधिको दुरुपयोग गरी निर्वाचनलाई दखल पुर्‍याउन खोज्ने तत्वहरूलाई निरुत्साहित गर्न र आम मतदातालाई सही सूचना प्रवाह गर्न आयोगले कडा कदम चाल्ने तयारी गरेको छ ।


सम्बन्धित समाचार