२२ माघ, काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ राजनीतिक भेटघाटका लागि मधेश झर्नुभएको छ ।
बुधबार जनकपुरधाम आइपुग्नुभएका घिसिङले बिहीबार बिहान प्रसिद्ध जानकी मन्दिरमा पूजा(अर्चना गर्दै आफ्नो मधेश यात्राको औपचारिक सुरुवात गर्नुभएको हो । धार्मिक अनुष्ठानलगत्तै उहाँले जनकपुरको जनकचोकमा सञ्चारकर्मीहरूसँग संवाद गर्दै समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनका रणनीतिबारे पार्टीको धारणा सार्वजनिक गर्नुभएको छ ।
अध्यक्ष घिसिङको यो भ्रमण विशुद्ध राजनीतिक भेटघाट र संगठन विस्तारमा केन्द्रित रहेको उहाँको सचिवालयले जनाएको छ । मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा पुगेर स्थानीय राजनीतिक कार्यकर्ता, समाजका अगुवा तथा सरोकारवालाहरूसँग आन्तरिक छलफल गर्ने उहाँको कार्यतालिका रहेको छ । निर्वाचन लक्षित यस भ्रमणले मधेशको राजनीतिमा उज्यालो नेपाल पार्टीको उपस्थिति र प्रभावलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
















