Logo

२२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार छनोट प्रक्रियालाई लिएर असन्तुष्टि चुलिएसँगै रुपन्देही–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस हुनुभएका डा. श्री कुँवरले पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

पार्टीले दाबी गर्दै आएको ‘प्राइमरी इलेक्सन’ (प्रारम्भिक निर्वाचन) को विधि मिचेर काठमाडौँ महानगरका मेयर बालेन शाहका पूर्वसल्लाहकार सुनिल लम्साललाई सिधै उम्मेदवार बनाएपछि कुँवर आक्रोशित हुनुभएको हो । अमेरिकाको व्यवस्थित बसाइ छोडेर पार्टीकै नेताहरूको आग्रहमा नेपाल आएका कुँवरले रास्वपाले लोकतान्त्रिक पद्धतिको नाममा केवल ‘मिडियाबाजी’ गरेको र आकांक्षीहरूबाट रकम असुलेर भ्रष्टाचारको नयाँ शैली अपनाएको गम्भीर आरोप लगाउनुभएको छ ।

कुँवरका अनुसार रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुकबाट २५ हजार र समानुपातिकका लागि ५० हजार रुपैयाँ शुल्क लिए पनि प्रतिष्पर्धा नै नगराई केन्द्रबाट उम्मेदवार लाद्ने काम गरेको छ । उहाँले यस प्रक्रियालाई ‘विदेशमा रहेका नेपालीहरूको भावनामाथि गरिएको खेलवाड’ को संज्ञा दिँदै अब कुनै पनि हालतमा रवि लामिछाने नेतृत्वको पार्टीमा नफर्किने जिकिर गर्नुभएको छ । रुपन्देही–१ मा कुँवरसहित ६ जना आकांक्षी हुँदाहुँदै प्राइमरी नगरी लम्साललाई टिकट दिनुले पार्टीभित्र विधि र पद्धतिको खडेरी परेको उहाँको बुझाइ छ ।

रास्वपाभित्रको यो कलह रुपन्देहीमा मात्र सीमित छैन । यसअघि काठमाडौँ–५ का नेता प्रणयशमशेर राणाले पनि प्राइमरी निर्वाचनको नाममा आर्थिक अपारदर्शिता भएको भन्दै चर्को विरोध जनाउनुभएको थियो । राणाले समेत पार्टीले प्रारम्भिक मतदानको विधि लत्याएको भन्दै आफूले बुझाएको शुल्क फिर्ताको माग गर्नुले निर्वाचनको संघारमा रास्वपाको आन्तरिक लोकतन्त्र र आर्थिक पारदर्शितामाथि ठूलो प्रश्नचिह्न खडा गरिदिएको छ । नेतृत्वले उम्मेदवार चयनमा देखाएको यो रबैयाले पार्टीका निष्ठावान कार्यकर्ता र विदेशबाट आश बोकेर आएका व्यक्तिहरूमा निराशा छाएको देखिन्छ ।


सम्बन्धित समाचार