Logo

२२ माघ,वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा सुरक्षा तयारी तीव्र बनाइएको छ। जिल्ला सुरक्षा समिति पर्साले हालसम्म जिल्लामा रहेका १६७ मतदानस्थलमध्ये ६० मतदानस्थलको स्थलगत अनुगमन तथा निरीक्षण सम्पन्न गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा चारवटै सुरक्षा निकाय, जिल्ला निर्वाचन कार्यालय तथा सम्बन्धित निकायको संयुक्त टोलीले मतदानस्थल र मतदान केन्द्रको अवस्था, सुरक्षा चुनौती तथा जोखिमको मूल्याङ्कन गर्दै आवश्यक पूर्वतयारी गरिरहेको छ।

प्रमुख जिल्ला अधिकारी दाहालले दैनिक रूपमा मतदानस्थलको निरीक्षण गर्दै त्यहाँ देखिएका सुरक्षा चुनौतीअनुसार रणनीति परिमार्जन गरिँदै आएको जानकारी दिए। उनका अनुसार दिउँसो १ बजेपछि नियमित रूपमा अनुगमन गरिँदै छ र आवश्यक सुरक्षा योजना तयार पार्ने काम भइरहेको छ।

निर्वाचनलाई शान्तिपूर्ण र भयरहित रूपमा सम्पन्न गराउन सबै सरोकारवाला निकायबीच निरन्तर समन्वय भइरहेको प्रजिअ दाहालले बताए। उनले उम्मेदवार, आम नागरिक तथा सञ्चारकर्मी सबैलाई निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरे।

पर्सा जिल्ला करिब १०७ किलोमिटर खुला सीमा नाकासँग जोडिएकाले सीमा क्षेत्रमा पनि शान्ति सुरक्षालाई विशेष ध्यान दिइएको उनले स्पष्ट पारे। यसैबीच जिल्ला प्रहरी प्रमुख सुदीपराज पाठकले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख अनामिका रौनियारले मतदाता शिक्षा सम्बन्धी प्रचारप्रसार कार्यक्रम अघि बढाइने बताउँदै निर्वाचन आचारसंहिताअनुसार उम्मेदवारले भारतीय नम्बर प्लेट भएका सवारी साधन प्रयोग गर्न नपाउने विषयमा सचेत गराइन्।

जिल्लाभर रहेका १६७ मतदानस्थलमध्ये ६२ लाई अतिसंवेदनशील, ८५ लाई संवेदनशील र २० लाई कम संवेदनशील सूचीमा राखिएको छ। निर्वाचन क्षेत्रगत रूपमा क्षेत्र नं. १ मा ३४, क्षेत्र नं. २ मा ३८, क्षेत्र नं. ३ मा ४७ र क्षेत्र नं. ४ मा ४८ मतदानस्थल रहेका छन्।

पर्सा जिल्लामा कुल ४४१ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेका छन्। चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ मा १०३, क्षेत्र नं. २ मा ११० तथा क्षेत्र नं. ३ र ४ मा समान रूपमा ११४ मतदान केन्द्र रहेका छन्।

जिल्लामा कूल मतदाता संख्या तीन लाख ७६ हजार ५१३ रहेको छ। तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका मतदाता रहेका छन्।


सम्बन्धित समाचार