Logo

२२ माघ,काठमाडौं । आगामी आईसीसी टी–२० विश्वकपअघिको दोस्रो तथा अन्तिम अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको छ। क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १२ बलअघि नै ४ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका आसिफ शेखले ५८, सन्दीप जोराले ४४ र गुल्सन झाले नटआउट ३१ रन बनाउँदै जित सुनिश्चित गरे। क्यानडाका जसकरण सिंह, साद बिन जफर र अजयवीर हुण्डलले समान रूपमा १–१ विकेट लिए।

पहिले ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाएर १६१ रन बनाएको थियो। नवनीत धालिवालले ४१ र श्रेयस मोव्वाले नटआउट ३८ रन बनाए। नेपालका सन्दीप लामिछाने र कुशल भुर्तेलले २–२ विकेट लिए।

नेपालले पहिलो अभ्यास खेलमा पनि यूएईलाई ७ विकेटले हराएको थियो।

आइतबारबाट भारत र श्रीलङ्कामा संयुक्त रूपमा सुरु हुने १०औँ टी–२० विश्वकपमा नेपाल समूह ‘सी’ मा इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले प्रतियोगिताको पहिलो खेल आउँदो आइतवार इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।


सम्बन्धित समाचार