२३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहटमा आफ्नो चुनावी अभियानका क्रममा प्रयोग गरिएको सवारी साधनको ठक्करबाट ४ वर्षीया बालिकाको निधन भएको घटनाप्रति गम्भीर दुःख व्यक्त गरेको छ ।
शुक्रबार पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले एक विज्ञप्ति जारी गर्दै बिहीबार ईशनाथ नगरपालिका–४, मठिया टोलकी बालिका अलसा खातुनको ज्यान गएको खबरले पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको बताउनुभएको हो । पार्टीले यस घटनालाई अत्यन्त गम्भीरताका साथ लिएको उल्लेख गर्दै घटनाको सत्यतथ्य र वस्तुनिष्ठ छानबिनका लागि स्थानीय प्रशासनलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
विज्ञप्तिमा कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने सवालमा पार्टीले कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै पीडित पक्षलाई उचित राहत र सहयोगका लागि आवश्यक पहल भइरहेको जानकारी गराइएको छ । साथै, रास्वपाले चुनावी प्रचारप्रसारमा प्रयोग हुने सवारी साधनहरूको परिचालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई पहिलो प्राथमिकता दिन आफ्ना उम्मेदवार, कार्यकर्ता र चालकहरूलाई कडा निर्देशन दिएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा आफ्नै सवारी साधनबाट भएको यस दुखद मानवीय क्षतिपछि रास्वपाले आफ्नो जिम्मेवारी बोध गर्दै कानुनी र मानवीय दुवै पक्षबाट न्याय दिलाउने वाचा गरेको छ ।
















